
सन्तोष पुर्कुटी
ताप्लेजुङ, असोज २६ । गत शनिबार ताप्लेजुङको फुङलिङ नगरपालिका–८ दोखुस्थित एक गोठमा बेवारिसे अवस्थामा भेटिएका शिशुलाई अस्थायी संरक्षकको जिम्मा लगाइएको छ । फुङलिङ नगरपालिका–८ का सन्तकुमार गुरुङ र देवीमाया गुरुङ दम्पत्तिलाई शिशु जिम्मा लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार गुरुङ दम्पतिलाई शिशु प्रदान गरिएको हो । बिहीबार जिल्ला असपतालका प्रमुख डा.सचिव यादवले गुरुङ दम्पत्तिलाई बच्चा हस्तान्तरण गरे ।
शनिबार गोठबाट उद्धार गरिएको शिशुलाई जिल्ला अस्पतालको आकस्मिक उपचार कक्षमा राखिएको थियो ।
संरक्षक बन्न चाहने ६ जना मध्येबाट गुरुङ दम्पत्तिलाई उपयुक्त ठहर गरि बच्चा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
शिशुको आमाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक संजयसिंह थापाले बताए । बेवारिसे बालकको अभिभावक बन्न चाहेमा मानसिक अवस्था ठिक भएको, नैतिक पतन देखिने फौजदारी कसूर नगरेको र आर्थिक हैसियत राम्रो भएको हुनु पर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्