१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


माटोको ढिस्कोले पुरिएर चार बालिका घाइते, एकको अवस्था गम्भीर


0
Shares

महोत्तरी, असोज २५ । महोत्तरी जिल्लाको औरही नगरपालिकामा बिहीबार माटोको ढिस्कोले पुरिएर चार बालिका घाइते भएका छन् । एकको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा औरही नगरपालिका–३, श्रीपुर बस्ने विनोद साहकी १० वर्षीया छोरी मन्तोरिया साह, सम्झारो महतोकी ६ वर्षीया छोरी रीता महतो, दरेश यादवकी १२ वर्षीया छोरी काजल यादव र ८ वर्षीया छोरी वसन्ती यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

दसैंका बेला घर लिपपोत गरेर झकीझकाउ बनाउनुपर्ने भन्दै बिहीबार बिहान १० बजेतिर गाउँमै रहेको नदीको किनारमा माटो ल्याउन गएका चारैजना बालिका माटोकै ढिस्कोले पुरिएर घाइते भएका छन् ।

घाइतेमध्ये विनोद साहकी १० वर्षीया छोरीको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा पठाइएको छ ।

अन्य तीनजना बालिकाको उपचार गाउँकै एक निजी क्लिनिकमा भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस