Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


नेपालमा २१ हजार अश्लील वेबसाइट बन्द


0
Shares

काठमाडौं, असोज २५ । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ ।

सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निर्णय गरेको हो ।

सन्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसन्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सन्चालकमार्फत् प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तत्काल बन्द गर्न नेपाल दूरसन्चार प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले ८ गतेदेखि काम सुरु गरेको हो ।

नेपालमा अहिले करिब १०० भन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन् ।

प्राधिकरणकाअनुसार अहिलेसम्म २१ हजारभन्दा बढी वेबसाइट बन्द भइसकेका छन् भने त्यस्ता प्रकृतिका अन्य वेबसाइट पनि बन्द गर्न निर्देशन दिइसकिएको छ ।

नेपाल टेलिकम र एनसेलबाट सन्चालन हुने नेटवर्कबाट त्यस्ता खालका साइट पनि बन्द गरिसकिएको नेपाल दूरसन्चार प्राधिकरण अनुगमन विभागका निर्देशक विजयकुमार रायले राससलाई जानकारी दिए ।

अश्लील यौनजन्य सामग्री प्रकाशन/प्रसारण गर्ने एक लाखभन्दा बढी वेबसाइट छन् ।

अश्लील वेबसाइटलाई पूर्णरुपमा बन्द गर्नका लागि कुनैपनि व्यक्तिले अश्लील साइट हेरेको खन्डमा त्यसलाई एप्समा हालेर तत्कालै बन्द गर्नसकिने प्रविधि निर्माण गर्ने तयारीमा प्राधिकरण रहेको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ मा शारीरिक कामोत्तेजना बढाउने वा कामवासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरू कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सन्चारमाध्यमबाट प्रचार–प्रसार गर्न नपाइने भनिएको छ । रासस