सर्लाही । आर्थिक वर्ष २०७५/७६ का लागि संघीय सरकारले पठाएको अनुदान निकासा नहुँदा सर्लाहीका स्थानीय तहहरूमा समस्या भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाबाट बजेट निकासा नहुँदा समस्या भएको स्थानीय तहका अधिकारीहरुको भनाइ छ ।
कर्मचारीलाई तलब खुवाउने एवं विभिन्न कार्यक्रमको बजेट भुक्तानीका लागि समस्या भएको छ ।
जिल्लास्थित ११ वटा नगरपालिका एवं ९ वटा गाउँपालिका गरी २० स्थानीय तहमध्ये हालसम्म १४ वटाको बजेट निकासा भएको छैन ।
अघिल्लो आर्थिक वर्षको फाँटवारी पेश नगर्ने स्थानीय तहको बजेट निकासा रोकिएको प्रमुख कोष तथा लेखा नियन्त्रक जगतप्रसाद थपलियाले जानकारी दिए ।
उनले हालसम्म मलंगवा, बरहथवा, बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाको मात्र बजेट निकासा गरिएको बताए ।
बजेट निकासा नहुँदा दसैंको मुखमा कर्मचारीले तलब नपाउने अवस्था आएको छ ।
चालू आर्थिक वर्षका लागि सर्लाहीका स्थानीय तहहरुलाई संघीय सरकारबाट वित्तीय समानीकरण र सःशर्त अनुदान शीर्षकमा ४ अर्ब ६९ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस्