
काठमाडौं, असार ८ । पहिलो उत्पादनशील कम्पनीको रुपमा प्रति दिन ३००० टन उत्पादन क्षमता रहेको शिवम् सिमेन्ट्सले ४ सय रुपैयाँ प्रति शेयरका दरले प्रारम्भिक सार्वजनिक निश्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
शिवम् सिमेन्टस्को प्रारम्भिक सार्वजनिक निष्काशनबाट उत्पादनशील क्षेत्रका कम्पनीहरु समेत सार्वजनिक निष्काशन मार्फत पूँजी परिचालन गर्न उत्प्रेरित हुने र यसबाट बजारमा उत्पादनशील कम्पनीहरुको प्रभुत्व बढदै जाने बोर्डको विश्वास रहेको छ ।
बोर्डले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रमियम सहित प्रति शेयर ३ सय र सर्वसाधारणका लागि रु.४०० दरले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरेको बोर्डले जनाएको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ प्रतिशतले ८,८०,००० कित्ता तथा सर्वसाधारणका लागि १० प्रतिशतले ४४,००,००० कित्ता गरी कुल ५२,८०,००० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति माग गरेको थियो ।
शिवम् सिमेन्ट्सलाई इक्रा नेपाल लिमिटेडले क्रेडिट रेटिङ्ग ग्रेड ३ प्लस प्रदान गरेको जनाइएको छ ।
पूँजीबजारमा वास्तविक क्षेत्रका कम्पनीहरुको सहभागिता बढाउन सरकारले पनि बजेट मार्फत धितोपत्र बजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीलाई करमा विशेष छुट दिने व्यवस्था गरेको छ ।
बोर्डले पनि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागु गरी प्रिमियम सहितको मूल्यमा सार्वजनिक निष्काशन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशतमात्र सार्वजनिक निष्काशन गरे पुग्ने लगायतका सुधारहरु गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्