काठमाडौं, असोज २३ । काठमाडौं क्षेत्र नम्बर–७ का सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।
मंगलबार अपराह्न राजधानीमा पत्रकार सम्मेलन गरी सांसद मानन्धरले आफूले सांसद पदत्याग गर्न तयार रहेको पत्र पार्टी नेतृत्वलाई बुझाएको जानकारी दिँदै पार्टी निर्णय पर्खिरहेको बताए ।
नेकपाका नेता वामदेव गौतमलाई संसदमा पठाउने उद्देश्यले आफूले राजीनामा दिन लागेको भन्दै उनले पार्टीले स्वीकृत गरेपछि संसद सचिवालयमा राजीनामा बुझाउने बताए ।
गौतमलाई संसदमा पठाउनु गौरवको विषय हुने भन्दै मानन्धरले आफ्नो निर्णय देश विकास लागि भएको र जनताप्रतिको सम्मानसमेत भएको बताए ।
आफ्नो कुनै स्वार्थ नभएको दाबी गर्दै उनले पार्टीले चाहे आफू उपप्रधानमन्त्री र राष्ट्रियसभाको सदस्यसमेत हुनसक्ने बताए ।
शीर्ष नेताहरुले आफूलाई कुनै दबाब नदिएको भन्दै गर्दा उनले अध्यक्ष पुष्पकमल दाहाल र वामदेव गौतमलाई आफैंले विश्वास दिलाएको दाबी पनि गरे ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मानन्धर तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्