शैक्षिक प्रमाण पत्र राखेर ऋण दिने सरकारी कार्यक्रमको कार्यविधी नै छैन • Image Khabar Image Khabar


शैक्षिक प्रमाण पत्र राखेर ऋण दिने सरकारी कार्यक्रमको कार्यविधी नै छैन


Imagekhabar
८ असार २०७५, शुक्रबार ०६:५७

शैक्षिक प्रमाण पत्र राखेर ऋण दिने सरकारी कार्यक्रमको कार्यविधी नै छैन

काठमाडौं, असार ८ । आर्थिक वर्ष २०७५/७६ को बजेटमा सरकारले उच्च शिक्षा प्राप्त गरेका युवालाई युवा स्वरोजगार कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाण पत्र राखेर ७ लाख रुपैयाँसम्म ऋण दिने घोषणा गरिएको छ ।

तर युवा स्वरोजगार कोषले भने बजेटमा ब्यवस्था गरे अनुसारको कार्यक्रम लागू गर्न कार्यविधि बनाएको छैन ।

दैनिक हजारौको संख्यामा विदेश जाने युवा युवतीहरुलाई स्वदेशमै स्वरोजगार बनाउने लक्ष्य अनुसार सरकारले शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने घोषणा गरेको हो ।

त्यसको लागि ४२ करोड रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रम संचालनको जिम्मा पनि सरकारले युवा स्वरोजगार कोषलाई दिएको छ ।

तर कोषले अहिले सम्म कसरी कार्यक्रम शुरु गर्ने भन्ने मापदण्ड समेत बनाउन सकेको छैन ।

कोषले १ सय दिने प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि संचालन गर्ने भएको छ ।

जस अन्र्तगत कृषी, पर्यटन, निर्माण क्षेत्रमा युवा युवतीलाई रोजगारी दिने तयारी कोषले गरेको छ ।

यस्तै वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सिपको आधारमा १० लाख ऋण दिने र विभिन्न महिला समुहहरुलाई समुहको परियोजना हेरेर १५ लाख रुपैयाँ तथा बैँकको ब्याजमा ६ प्रतिशत अनुदान व्यवस्था गर्ने कार्यक्रम पनि कोषले संचालन गर्ने कोषका उपाध्यक्ष्य डा. प्रेम प्रसाद दंगालको भनाई छ ।

शैक्षिक प्रमाणपत्र राखेर ऋण उपलब्ध गराउने घोषणाप्रति पढेलेखेका युवा युवतीको निकै चासो रहेको छ ।

तर यो कार्यक्रम कसरी शुरु हुन्छ र कति जनाले यो सुविधा पाउछन भन्ने स्पष्ट हुन भने केही समय पर्खनैपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्