Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


सोह्रश्राद्धमा जीवित पत्नीकै पिण्डदान गरे कयौं पुरुषले, यस्तो छ कारण


0
Shares

मुम्बई, असोज २३ । सोह्रश्राद्धमा पितृहरुको सम्झनामा तर्पण तथा पिण्डदान गरिन्छ । तर कयौं पुरुषले सोह्रश्राद्धका अवसरमा आ–आफ्ना जीवित पत्नीकै पिण्डदान गरेका छन् ।

घटना भारतको महाराष्ट्र राज्यको नासिकमा भएको हो । त्यहाँ सामूहिक रुपमै पिण्डदान कार्यक्रम आयोजना गरिएको थियो ।

समाचार एजेन्सीहरुका अनुसार सयभन्दा बढी पुरुषले आफ्ना जीवित पत्नीको पिण्डदान गरेका थिए । आइतबार भएको कार्यक्रममा पण्डितले वैदिक मन्त्र उच्चारण गरेका थिए भने पुरुषहरुले पत्नीको नाममा गोदावरी नदीमा पिण्ड अर्पित गरेका थिए ।

उक्त कार्यक्रम वास्तव फाउन्डेसन नामक संस्थाले आयोजना गरेको हो ।

संस्थाका अध्यक्ष अमित देशपाण्डेका अनुसार पत्नीबाट प्रताडित पुरुषहरुले जीवित पत्नीकै पिण्डदान गरेर आफ्ना समस्याप्रति सिंगो देशको ध्यानाकर्षण गराएका हुन् । ‘विवाहमा दम्पत्तीले सुख–दुःख बाँड्ने बाचा गरेका हुन्छन् तर पछि सानोतिनो कुरामा कलह भएर सम्बन्ध नै टुट्ने अवस्थामा पुग्छ,’ उनले भने, ‘कयौं घटनामा पुरुषलाई दोष दिइन्छ, समाजले महिलालाई यसमा जिम्मेवार ठहर्‍याउँदैन, त्यसैले त्यस्ता पीडित पतिहरुको हकका पक्षमा संस्था स्थापना गरिएको हो ।’

पिण्डदान गरेका पुरुषहरुले पुरुषको अधिकारका लागि छुट्टै आयोग गठन गर्न सरकारसँग माग गरेका छन् । (एजेन्सी)

 

Skip This