काठमाडौं, असोज २१ । सुदुरपश्चिम प्रशंसा संरक्षण समुहले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषी पत्ता लगाई कारवाहीका लागि सरकारसमक्ष जोडदार माग गरेको छ ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा समूहले बृहत्त अन्तरक्रिया आयोजना गरेर निर्मलाको निर्ममतापूर्वक हत्या गरिएको जघन्य अपराध सम्बन्धमा पीडित परिवारको समवेदनशीलताको समेत बेवास्ता गरिएको भन्दै हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गरेको हो ।
७५ दिनसम्म पनि दोषी पत्ता लाग्न नसकेको र पीडित पक्षले न्याय पाउन नसकेकोे भन्दै सुदूरपश्चिमका काठमाडौंबासीहरुको प्रतिनिधित्व गर्ने सामाजिक संस्थाहरु र नागरिक समाजहरुले संयुक्त रुपमा सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले चाँडोभन्दा चाँडो घटनाको छानबिन गर्दै दोषीलाई सार्वजनिक गर्नुपर्ने माग गरे ।
नागरिकको स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको हनन् भएको भन्दै उनले भने, ‘घटनाको प्रकृतिमाथि केही बिसंगतिहरु देखिएका छन्, त्यो सत्य पनि हो तर प्रमाण मेटाउने काम पनि भएको हुँदा अपराधीले संरक्षण पाईरहेको छ ।’
निर्दोष मानिसहरुलाई अनाहकमा अपराधीको ट्याग लागेको बताउदै उनले यो सामाजिक न्यायको मुद्दा भएका कारण यसमा कसैले राजनीति गर्न नहुने बताए । सरकारसँग न्याय माग्दा राजनीति हुन्छ भने कोसँग न्याय माग्ने भन्दै लेखकले प्रतिप्रश्न समेत गरे ।
कार्यक्रममा नेकपाका सांसद डा. दिपकप्रकाश भट्टले यो घट्नाका बारेमा आफूहरुले संसददेखि सडकसम्म नै जानकारी गराईसकेको जनाए । पाँच महिना यता १७० बलात्कारका घटना घटिसकेको जनाउनदै उनले अपराधी जति नै शक्तिशाली भएपनि राज्यले सार्वजनिक गर्नुपर्ने धारणा राखे ।
डिएनए टेस्टको रिपोर्ट नेगेटिभ आईसकेपछि वास्तविक अपराधि को हो ? भनेर सत्य तथ्य पत्ता लगाउनु राज्यको दायित्व भएको पनि उनले बताए । आजको भोलिनै पत्ता नलागे पनि अपराधी कानुनको कठघरामा आउनुपर्नेमा उनले जोड दिएका छन् ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पञ्चायतको बेलाजस्तै लास भेटिने तर अपराधी भेटिने आशा नरहेको बताएका छन् । उनले कञ्चनपुरको घटनापछि पाँच महिनामा अन्य यस्ता धेरै घटनाहरु घटिसकेको बताए ।
दुई तिहाईको बहुमतको सरकारमा दुई तिहाईकै दरले अपराधको घटना बढेको आरोप पनि उनले लगाए ।
त्यस्तै अनेरास्ववियुका महासचिव ऐन महरले निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अपराधीलाई हदैैसम्मको कारवाहीको माग गरे ।
महिला अधिकारकर्मी शारदा चन्दले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनामा अनुुुसन्धानको लागि पक्ष र विपक्ष दुबैको उत्तिकै महत्वपूर्ण भुमिका रहेको बताईन् । अहिलेसम्म पाँच वटा छानबिन समिति बनिसक्दापनि वास्तविक अपराधी पत्ता नलागेकोमा उनले आक्रोश समेत पोखिन् ।
प्रतिक्रिया दिनुहोस्