Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सुदूरपश्चिम प्रदेश सरकारद्वारा दुई महिनामा करिव १० करोड राजस्व संकलन


0
Shares

बिराज रोस्यारा

कैलाली, असोज २१ । केन्द्र सरकारको राजस्वमा निर्भर रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको २ महिनामा ९ करोड ७७ लाख ६५ हजार ४०१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

संघीय सरकारको राजस्व अनुदानबाहेक आफैँले १ अर्ब २९ करोड ६५ लाख ८२ हजार राजस्व संकलनको लक्ष्य राखेको प्रदेश सरकारले कूल लक्ष्यको ७.५४ प्रतिशत राजस्व दुई महिनामा संकलन गर्न सफल भएको हो ।

दुई महिनाको अवधिमा भएको उपलब्धिअनुसार एक वर्षमा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सक्ने अवस्था रहेको आन्तरिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताए ।

आइतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संघीय सरकारसँग समन्वय गरेर लक्ष्यभन्दा बढी राजस्व उठाउने प्रतिबद्धता जनाए । चालू आर्थिक वर्षमा प्रदेश सरकारले २५ अर्ब ६ करोड ५६ लाख १४ हजार राजस्व उठ्ने अनुमान गरेको छ ।

कुल राजस्वको ९४.८३ प्रतिशत अर्थात २३ अर्ब ७६ करोड ९० लाख ३२ हजार रुपैयाँ राजस्व संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदानमा आधारित रहने जनाईएको छ ।

प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशन करबाट सबैभन्दा बढी ३९ करोड ९३ लाख ९० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । दुई महिनाको अवधिमा घरजग्गा रजिष्ट्रेशन करबाट ५ करोड ४ लाख २५ हजार ७१५ रुपैयाँ राजस्व संकलन भएको मन्त्री बोहराले बताए ।

घरजग्गा रजिष्ट्रेशन करमा लिइएको लक्ष्यमा दुई महिनाको अवधिमा १२.६२ प्रतिशत संकलन सकंलन भएको बताउँदै उनले सवारी साधनबाट यो अवधिमा ४ करोड २५ लाख रुपैयाँ अर्थात ३१.१७ प्रतिशत राजस्व संकलन भएको बताए ।

यस्तै, दण्ड, जरिवाना, न्याय, जफतबाट चालू आर्थिक वर्षको हालसम्म ४७ लाख ७६ हजार रुपैयाँ राजस्व प्रदेश सरकारले उठाएको छ । आर्थिक वर्षभरी यो शीर्षकमा ३ करोड राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ । न्याय, मनोरञ्जन, विज्ञापन, कृषि र अन्य प्रशासनिक सेवा कर संकलनको विवरण भने प्राप्त हुन नसकेको मन्त्री बोहराले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सवारी साधन करबाहेक अरु सबै शीर्षकमा प्रदेश सरकारले ४० प्रतिशत र स्थानीय सरकारले ८० प्रतिशत कर उठाउने अधिकार छ । प्रदेश सरकारले अन्य शीर्षकमा ६ करोड, मनोरञ्जन करबाट पाँच लाख, विज्ञापन करबाट १५ लाख, कृषि आयकर र अन्य प्रशासनिक सेवाबाट पाँच÷पाँच लाख राजस्व एक वर्षमा संकलन गर्ने लक्ष्य राखेको छ । 

कर तिर्ने बानीको विकासका लागि कृषि क्षेत्रमा न्यून कर लगाएको मन्त्री बोहराले जानकारी दिए । दुई महिनाको अवधिमा सबैभन्दा बढी राजस्व मालपोत कार्यालयबाट संकलन भएको मन्त्रालयले जानकारी दिएको छ । 

यातायाततर्फ सेतीको कार्यालयबाट तीन करोड र महाकालीबाट ५२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले २५ लाख ४३ हजार राजस्व संकलन गरेको छ ।