-बासुदेव बर्मा/ईमेज:
कपिलवस्तु । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले काम नगर्ने जनप्रतिनिधिको तलब भत्ता रोक्का गर्ने चेतावनी दिएका छन् ।
प्रदेशलाई साक्षर बनाउने अभियानमा प्रदेश सरकार लागेको भन्दै मन्त्री बरालले यसै आर्थिक बर्ष भित्र काम सक्न उहाले जनप्रतिनिधिलाई आग्रह गरे ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको साक्षर घोषणा कार्यक्रममा शनिवार बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् ।
उनले स्थानीय तहका जनप्रतिनिधिलाई साक्षर, खुल्ला दिशा मुक्त र पूर्ण भर्ना घोषणा गर्न आग्रह गरे ।
यदी तोकिएको समयमा काम नगरे सरकारले दिने तलबभत्ता रोक्ने उनले चेतावनी दिए । प्रदेश सरकारले यस बारेमा निर्णय गरिसकेको उनले बताए ।
कार्यक्रममा प्रदेशका सामाजिक विकास समितिका सभापति तथा सांसद दीर्घनारायण पाडेले शिक्षाको विकास बिना समृद्धि आउन नसक्ने बताए ।
साक्षर घोषणा भए पनि यसलाई पूर्ण कार्यान्वयन गर्न सके बल्ल अभियानले सार्थकता पाउने उनले बताए ।
प्रदेश सांसद माला गोतामेले बुद्धभूमि साक्षर घोषणा हुनु राम्रो कुरा भएको बताए ।
नगरपालिकालाई साक्षर घोषणा गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नगरका १० ओटै वडालाई साक्षर घोषणा गर्दै सिंगो नगरलाई साक्षर बनाएको उनले बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्यव ईकाई कपिलवस्तुका प्रमुख बाबुराम भट्टराई, नयाँ शक्तीका नेता इन्द्रमणी पौडेल, नेकपाका नेता पिताम्बर खनाल, भृकुटी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रलाल बन्जाडे, राम प्रसाद अर्याल, आस्था घिमिरे लगायतले बोलेका थिए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको स्वागत मन्तव्यमा भएको कार्यक्रममा विभिन्न समूहले बजागाजा र झाँकी प्रर्दशन गरेका थिए ।
कार्यक्रमको संचालन स्रोत व्यक्ति खेमराज पौडेलले गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्