काठमाडौं, असोज २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् ।
आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुंग्याइने बताए ।
उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए ।
पार्टीभित्र देखिएको विवाद बाहिर सन्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दैै पार्टीभित्र कुनै समस्या नभएको उनको भनाइ थियो ।
महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गरे । उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताए ।
‘राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशकौंदेखिको बेथिति संग्रह छ’–उनले भने–‘त्यसलाई दुरुस्त गर्नका लागि ६–८ महिनाको समयले पुग्दैन । त्यसकारण सरकारले जनताको अपेक्षा पूरा हुनेगरी विकासलाई अगाडि बढाउन सकेको छैन ।’
उनले चाँडै नै सरकारले परिमाण आउनेगरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिनेगरी काम अगाडि बढाउनेसमेत बताए ।
नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राखे ।
उनले सिंगो समाज र सबैको सोच बदलेर मुलुकको विकास द्रुतगतिका साथ लैजानुको विकल्प नभएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्