Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


कमजोर नियमनले सहकारीका कारण वित्तीय क्षेत्रमा जोखिम : गभर्नर


0
Shares

काठमाडौं, असोज १९ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सहकारीको कमजोर नियमनका कारण वित्तीय स्थायित्वमा जोखिम रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार राजधानीमा आयोजना गरेको ‘वित्तीय क्षेत्र स्थायित्वः प्राथमिक राष्ट्रिय एजेन्डा’ विषयक कार्यक्रममा उनले बचत तथा ऋण सहकारी तथा गैरबैंकिङ वित्तीय संस्थाहरुमा नियमनको अभावले वित्तीय क्षेत्रमा अदृश्य जोखिम रहेको औंल्याएका हुन् ।

चालू आर्थिक वर्ष २०७५/७६ को मौद्रीक नीतिले वित्तीय स्थायित्व सशक्तिकरणका लागि मापदन्डहरु अवलम्बन गरेको भन्दै उनले बचत तथा ऋण सहकारीसहितका वित्तीय कारोबार गर्ने संस्थाहरुमा सुशासनको अभावका कारण जोखिम अन्तरनिहीत रहेको जिकिर गरे ।

गभर्नर नेपालले नेपालको बैंकिङ क्षेत्र अत्यन्त मजबुत् रहेको भन्दै केन्द्रीय बैंकको विवेकशील नियमनका कारण यो सम्भव भएको बताए ।

कार्यक्रममा अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले दिगो आर्थिक वृद्धि तथा आर्थिक वृद्धिको स्थायित्वका लागि स्वस्थ वित्तीय क्षेत्र तथा वित्तीय स्थायित्व महत्वपूर्ण रहेको टिप्पणी गरे ।

कार्यक्रममा विज्ञ, नीति निर्माता तथा नियामकहरुले वित्तीय स्थायित्व आर्थिक वृद्धिका लागि पूर्वशर्त रहेको र यसलाई त्यत्तिकै प्राप्त भएको नठान्न आग्रह गरेका थिए ।