Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


महर्जन अन्तिम चरणमा


0
Shares

काठमाडौं, असोज १९ । १३औं धर्मश्री विजेता तथा ५०औं एसियन च्याम्पियनसिपका स्वर्णपदकधारी महेश्वर महर्जन १५औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको अन्तिम चरणका लागि छनोट हुन सफल भएका छन् ।

८० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सेप फिटनेस एन्ड जिम कालिमाटीका महेश्वर शनिबार आयोजना हुने १५औं धर्मश्रीको उपाधिनजिक पुगेका हुन् ।

उनका साथै उक्त तौल समूहमा मिड वेस्टर्नका विष्णु विक, सेप टु ढल्कोका उज्जल बज्राचार्य, फिटनेस स्टुडियोका प्रविन शाही, सेप टु ढल्कोका विशाल कँडेल र आयोजक नेपाल व्यायाम मन्दिरका जनम लामा रहेका छन् ।

प्रजातन्त्रका लागि जीवन बलिदान गर्ने सहिद तथा व्यायामका अग्रज धर्मभक्त माथेमाको सम्झानामा २०४२ सालबाट आयोजना गरिएको प्रतियोगिताको १५औं संस्करणको अन्तिम चरणका लागि छनोट हुन सफल ५५ केजी तौल समूहमा उज्जल जिम तथा जुम्बाका किसनदास दिवाकर, फ्लेकस जिमका सुजन गुरुङ, बुटवल फिटनेसका सुनिल आले, मसल मेनियाका अवाज प्याकुरेल, नेपाल व्यायाम मन्दिरका डेभिड बलामी र सुरेश खत्री रहेका छन् ।

नेपाल व्यायाम मन्दिको आयोजनामा भएको सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा ६० केजी तौल समूहबाट फिटनेस स्टुडियोका गौरभप्रसाद श्रेष्ठ, फिटनेस स्टारका यदुकुमार विश्वकर्मा, नेपाल व्यायाम मन्दिरका शैलेन्द्रकुमार शर्मा र सुजन तामाङ, ओम फिटनेसका मीनबहादुर चौधरी तथा नेपाल व्यायाम मन्दिरका आशिष देवाजु पनि छनोट भएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगिताको ६५ केजी तौल समूहमा मि. हिमालय रामबहादुर दाहाल छनोट भए ।

नेपाल व्यायाम मन्दिरका दाहाल नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा २०६९ सलमा आयोजना गरिएको चौथो मि. हिमालयका विजयी हुन् ।

यस्तै, सोही तौलमा ओम फिटनेसका फिरदोस दापाली हासमी, फिटनेस फर्स्टका रोजिन बज्राचार्य, बुटवल फिटनेसका विजेन्द्रमान श्रेष्ठ, सेप टु ढल्कोका विवेक बिष्ट, फिटनेस स्टुडियोका सुपेन डंगोल पनि छनोट हुन सफल भए ।

७० केजी तौलमा सेप टु ढल्कोका उज्जल राज बज्राचार्य र किरण यादव, अक्सफोर्ड जिमका समिर श्रेष्ठ, फिटनेस स्टुडियोका बद्री श्रेष्ठ, ब्रोन्ज फिटनेसका किरण श्रेष्ठ तथा नेपाल व्यायाम मन्दिरका सन्जीव श्रेष्ठले पनि फाइनल चरणका लागि स्थान बनाए ।

प्रतियोगिताको ७५ केजी तौलमा ग्यालेक्सि फिटनेसका ललित धिमाल, रिभर फिल्ड फिटनेसका अशोक महर्जन, सेप टु ढल्कोका प्रवेश श्रेष्ठ, नेपाल जिमका नवीन राना, गुड लाइफका सुरेश खड्का तथा नेपाल व्यायाम मन्दिरका प्रवेश केसी पनि अन्तिम चरण प्रवेश गर्न सफल भए ।

यसैगरी, ८० केजीमाथिको ‘हेभीवेट’मा शंखमूल हेल्थका अमर डंगोल, कम्पिल्टी हेल्थ क्लबका अनोज मास्के, फिटनेस स्टुडियोका दिपेश श्रेष्ठ, नेपाल व्यायाम मनिदरका मिलनविक्रम सिजापती र ग्रिस महर्जन तथा मस्कुलिन जिमका सौरभकुमार गिरी पनि अन्तिम चरण प्रवेश गरे ।

शुक्रबार भएको प्रिजजिङ चरणबाट आ–आफ्ना प्रतिद्वन्द्वीलाई पछि पार्दै प्रत्येक समूहबाट ६ खेलाडीहरु अन्तिम चरणका लागि छनोट भएका हुन् ।

अन्तिम चरणमा प्रत्येक समूहमा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुले धर्मश्री उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

धर्मश्री विजेताले नगद पाँच लाख रुपैयाँसहित ट्रफी र ब्यानेटबाट सुसज्जित हुनेछन् ।

यस्तै, प्रतियोगितामा दोस्रो हुनेले दुई लाख, तेस्रोले एक लाख, चौथोले ९० हजार, पाँचौंले ८० हजार, छैटौंले ७५ हजार र सातौं स्थान हासिल गर्नेले ६० हजार नगद, मेडल तथा अरु पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, तौल समूहमा दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ३० हजार र २० हजार रुपैयाँका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

२०४२ सालमा १५ हजार पुरस्कार राशीबाट सुरु गरिएको धर्मश्री प्रतियोगिता १५औं संस्करणसम्म आइपुग्दा शारिरीक सुगठनमा सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिता भएको छ ।