काठमाडौं, असोज १९ । नेपाल भुटानको थिम्पुमा जारी साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार साँझ सम्पन्न सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतमाथि ‘टाइब्रकेर’मा ३–१ को जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको हो ।
टाइब्रेकरमा नेपालका लागि गोलरक्षक अन्जना रानामगर, रेखा पौडेल र मनीषा राउतले गोल गरे । अन्जनाले भारतका दुई प्रहार बचाएकी थिइन् । भारतको एक प्रहार क्रसबारमा लागेको थियो । नेपालका लागि पूजा रानाको प्रहार भने सफल हुन सकेन ।
यसअघि, निर्धारित् ९० मिनेटको खेलमा १–१ को बराबरी भएको थियो । नेपालले खेलको १५औं मिनेटमै गोल गर्दै प्रारम्भिक अग्रता लियो । रेखा पौडेलको पासलाई रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् ।
मध्यान्तरसम्म नेपालले अग्रता लिएकामा ६२औं मिनेटमा भारतकी टुडु जबामानीले गोल गरेकी थिइन् ।
नेपाल समूह ‘बी’को उपविजेताकारुपमा सेमिफाइनल पुगेको थियो भने भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’को विजेता बनेको थियो ।
समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० ले पराजित गर्दा बंगलादेशसँग भने २–१ ले पराजित भएको थियो ।
नेपालले अब उपाधिका लागि बंगलादेश र आयोजक राष्ट्र भुटानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।








प्रतिक्रिया दिनुहोस्