Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


काठमाडौंका केही पसलहरुमा अनुगमनपछि सिलबन्दी


0
Shares

काठमाडौं, असोज १८ । सरकारले प्रत्येक वर्ष बजार अनुगमन गर्दै आइरहेको छ । अनुगमनले तीव्रता त्यतिबेलामात्रै पाउँछ, जतिबेला चाडपर्व नजिकिन्छ ।

यस वर्ष पनि चाडपर्वलक्षित गरी खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन गरिरहेको छ ।

विभागले बिहीबार पनि काठमाडौंका विभिन्न स्थानका मिठाइ पसलहरुको अनुगमन गर्‍यो ।

विभाग र उपभोक्ताकर्मीहरुको समूहले काठमाडौंको गौशालामा रहेको व्यञ्जन मिठाइ भन्डार, पशुपति मिठाइ भन्डारले गुणस्तरहित सामग्रीको प्रयोग मिठाइ बिक्री गरेको भन्दै करिब १३० किलो मिठाइ नस्टसहित सिलबन्दी गरेको छ ।

यी पसलहरुमा फोहोर र साङलालगायतका वस्तुहरु भेटिएकाले मिठाइ नस्ट गरिनुका साथै पसल सिलबन्दी गरिएको विभागका अधिकृत ईश्वर सुवेदीले बताए ।

स्वास्थ्यमा प्रत्यक्ष हानि गर्ने किसिमका वस्तुहरु भेटिएकाले त्यस्ता वस्तुहरु नस्ट गरिएको विभागले जनाएको छ ।

त्यस्तै, बानेश्वरस्थित विकानेश्वर स्वीट्स एन्ड फास्टफुड रेस्टुरेन्टमा पनि अनुगमन गरी सचेत गराएको छ ।

विभागले मंगलबार पनि बानेश्वरस्थित संगम स्वीट्समा सिलबन्दी गरेको थियो ।

उक्त पसलमा ‘हाइड्रो वान’ भेटिएको, उत्पादनस्थल फोहोर भएको र तेलमा ‘पोलारिटी’ बढी भएका कारण सिलबन्दी गरिएको विभागले जनाएको छ ।