Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


रोजगारीका लागि भारत गएकाहरु घर फर्कंदै, सीमामा लुटपाटमा कमी (भिडियो)


0
Shares

नरेन्द्र थापा (इमेज)

नेपालगन्ज, असोज १८ । नेपाली तथा हिन्दुहरुको महान् पर्व बडादसैं नजिकिँदै गर्दा रोजगारीका लागि भारत गएकाहरु घर फर्कनेक्रम बढिरहको  छ ।

पश्चिम नेपालको रुपेडियालगायतका नाकाबाट नेपालीहरु फर्किरहेका छन् ।  विगतका वर्षहरुमा सीमानाकामा लुटपाटका घटना बढी हुने गरेको भएपनि यस वर्ष भने खासै समस्या झेल्नुनपरेको यात्रीहरुले बताएका छन् ।

यतिबेला बाँकेको रुपेडिया नाका भइ घर फर्कने नेपालीहरुको लावालस्कर नै देखिन्छ ।

अरुबेला जे–जस्तो भएपनि मुख्य चाडबाडको बेलामा घर फर्किनुपर्छ भन्दै दैनिक १५ सयभन्दा बढीको संख्यामा यस नाका भइ यात्रीहरु फर्किरहेका छन् ।

वर्षभरिको अनुभव, दुःख परिवारसँग साट्ने, टीका लगाइ मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने र मीठो खाने पर्वकारुपमा धेरैले दसैंलाई लिने गरेका छन् ।

घर फर्कंदा अधिकांशले सीमानाकामा ठूल्ठूला समस्या झेल्नुपर्ने बाध्यता थियो । तर, यसपटक भने सीमानाकामा खासै समस्या नरहेको यात्रीहरु बताउँछन् ।

भारतमा कामका लागि गएका नेपालीहरु फर्कनेक्रममा नलुटिउन् भनेर नेपाली प्रहरी सादा पोसाकमा भारतीय बजार रुपेडियाको बस स्टेसनसम्म पुगी निगरानी गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज शिव ओली बताउँछन् ।

यसैगरी, रुपन्देहीको बेलहिया, कन्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टालगायतका नाकामा पनि सुरक्षा अवस्था कडा पारिएको छ ।

घर फर्कने नेपालीको चाप बढ्नेबित्तिकै बाटोमा लट्ठीने खानेकुरा खुवाएर वा सुँघाएर लुटपाट गर्ने गिरोह सक्रिय हुने गर्दछन् ।

त्यतिमात्र होइन, विगतमा घर फर्कने नेपालीलाई भारतीय अधिकारीहरुले पनि चेकजाँकका नाममा अनावश्यक दुःख दिने गरेका थिए ।

तर, अहिले भने नेपाल प्रहरीले भारतीय प्रहरीसँग मिलेर घर फर्कने नेपालीको सुरक्षाका लागि समन्वय गरेर अघि बढेका छन् ।

नेपाल प्रहरीले नाकामा यात्री सहयाताकक्ष स्थापना गरेको छ भने भारततर्फ पनि नागरिक सहायताकक्ष स्थापना गरिएको छ ।

भिडियो हेर्नुहोस्