१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


पुटिनको भारत भ्रमण, पाँच अर्ब डलरको हतियार खरिद सम्झौता हुने


0
Shares

नयाँदिल्ली, असोज १८ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको औपचारिक भ्रमणका लागि बिहीबार साँझ नयाँदिल्ली आइपुग्नेछन् ।

रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुनेक्रममा रहेकाले यस भ्रमणलाई अमेरिका, चीन र पाकिस्तानले नजिकबाट नियालीरहेका छन् ।

दुईदिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब पाँच अर्ब डलरको अध्याधुनिक ‘एस–४००’ हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ ।

रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरुविरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरेपनि यो हस्ताक्षर हुन लागेको हो ।

राष्ट्रपति पुटिन १९औं भारत–रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि रहेको छ । उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन् ।

वासिङ्टन र नयाँदिल्लीले सन् २०१९ मा संयुक्त सैन्य अभ्यास गर्ने गत महिनामात्र घोषणा गरेका थिए । दुवै देशबीच संवेदनशील सैन्य सूचना आदान–प्रदान गर्ने पनि सहमति भएको थियो ।

तर, रुस नै भारतको मुख्य सैनिक साझेदार रहिआएको छ र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ ।

पुटिन र मोदीबीच अरुपनि सैन्य सामग्रीको आपूर्तिकाबारेमा छलफल हुने बताइएको छ ।

भारत र रुसबीच सैनिक हेलिकोप्टर उत्पादनकाबारेमा यसअघि नै सम्झौता भइसकेको छ । जसअन्तर्ग ६० ओटा रुसमा निर्माण गरिने र बाँकी भारतमा उत्पादन गरिनेछ ।

विज्ञहरुले भारतलाई अत्याधुनिक एस–४०० प्रणालीजस्ता उपकरण सख्त जरुरत भइसकेको बताएका छन् ।

चीनले लगातार सैनिक क्षमता सुदृढ गरिरहेको र पाकिस्तानबाट नयाँ–नयाँ चुनौती आइरहेकाले पनि भारतले आफ्नो प्रतिरक्षा क्षमता बढाउन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

भारतीय वायुसेना प्रमुख वीरेन्दर सिंह धनोआले एस–४०० र ३६ ओटा फ्रान्सेली लडाकू विमान ‘राफेल’को खरिदबाट भारतको तत्कालीन आवश्यकता पूरा हुने बताए ।

भारत विश्वमै सबैभन्दा ठूलो सैनिक सामग्री आयातकर्ता मुलुक हो । भारतले १०० अर्ब डलरका आधुनिक हातहतियार खरिद गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

रुस अझैपनि भारतको सबैभन्दा ठूलो सैन्य सामग्री आपूर्तिकर्ता मुलुक हो । सन् १९५३ यतादेखि दुवै मुलुकबीच प्रगाढ सम्बन्ध रहिआएको छ ।

दोस्रो स्थानमा अमेरिका छ । अमेरिकाले भारतीय सेनाका लागि अत्याधुनिक ‘अपाचे’ हेलिकोप्टर र ‘ड्रोन’हरु बिक्री गर्दैछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकासँगको सम्बन्धमा जोड दिएसँगै भारतको रुससँगको व्यापारमा कमी आएको छ ।

सन् २०१४ यता दुवै मुलुकबीचको व्यापार १० अर्ब डलरभन्दा कम हुन थालेको छ । तर, पछिल्लो समय मोदी र पुटिनबीचको भेटमा तीव्रता आएको छ । रासस/एएफपी