Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


गन्डकी प्रदेशमा कानुन निर्माणको काम उत्साहजनक


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, असोज १८ । गन्डकी प्रदेशमा कानुन निर्माणको काम उत्साहजनक देखिएको छ ।

यस प्रदेशमा सरकारलाई आवश्यक पर्ने कानुनहरु निर्माण भइसकेका छन् । तर, विकास निर्माणले भने आशातित गति लिन सकेको छैन ।

राजधानी र नामको टुंगो लगाइसकेको गन्डकी प्रदेशमा कानुन निर्माणको काम उत्साहजक देखिन्छ ।

अहिले मन्त्रीदेखि मुख्यमन्त्रीले संघीय सरकारबाट आवश्यक सहयोग नभएको टिप्पणी गरिरहेका छन् । यद्यपि, प्रदेशले पनि आफूले गर्नसक्ने र गर्नुपर्ने काम प्रभावकारी ढंगले अगाडि बढाउन सकेको छैन ।

प्रदेश सरकारका लागि चाहिने नियम–कानुनहरु सर्वसम्मतरुपमा पारित भएपनि बजेटको पूर्णकार्यान्वयन गर्न भने त्यति सहज छैन ।

यता, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु भने आफूहरुले सरकारलाई सहयोग गरे पनि सरकार भने दुईतिहाइको आडमा एकलौटीरुपमा चल्न खोजेको आरोप लगाउँछन् ।

७ महिनाको अवधिसम्म सरकारको कार्यशैली हेरिरहेका जनता पनि पहिलेजस्ता उत्साहित देखिँदैनन् ।

विभिन्न ठाउँमा कार्यालय स्थापना त गरिएको छ । तर, काम गर्ने कर्मचारी नहुँदा सेवाग्राहीले सहज र सुलभरुपमा सेवा पाउन सकेका छैनन् । बरु, करको अनावश्यक भारी बोकाइएकोप्रति असन्तुष्ट छन् ।

तर, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु भने झिना–मसिना कार्यक्रम र समारोहमै व्यस्त भइरहेका छन् । वास्तविक काममा सरकारको ध्यान जान नसकेको धेरैको प्रतिक्रिया छ ।

सबै कुरा राम्रो बन्न यो समय पर्याप्त त होइन । तर, सुरुआतीका सुलक्षण देखिने बेला भने भइसकेको छ । जनताले सहजरुपमा सेवा, सुविधा र समृद्धि खोजेका छन् ।

भिडियो हेर्नुहोस्