१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


चाडपर्व नजिकिएसँगै उपभोग्य सामाग्रीको कृत्रिम अभाव, मूल्यमा मनपरी (भिडियो)


0
Shares

-प्रकाश नेपाल/ईमेज

इलाम । दशैं तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै बजारमा मूल्यवृद्धि ह्वात्तै बढेको छ ।

दैनिक उपभोग्य सामग्रीमा उपभोक्ताको ढाडै सेक्ने गरी भएको मूल्यवृद्धिले इलामबासी मारमा परेकोे गुनासो गरिरहेका छन् ।

अर्कोतिर व्यापारीहरु भने आफूहरुले पनि महँगो मूल्य तिर्नुपरेकोले मूल्य बढेको बताउँछन् ।

एकातिर दशैँ तिहारजस्ता पर्वको आगमनले जनजनमा उत्साह र उमंग भरिएको छ ।

टाढाटाढाका आफन्तजनहरु जमघट हुने मीठो मीठो खाने, रमाइलो गर्ने र आशीर्वाद ग्रहण गर्नको लागि सबैजना प्रतिक्षामा देखिन्छन् ।

तर यहीं रौनकका बीच विचौलिया र कतिपय व्यापारीले ठगीको कालोधन्दा गरिरहेका छन् ।

दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्यवृद्धिले उपभोक्तालाई थिचिरहेको छ ।

दाल, चामल, चिनी, चिउरा, तेल लगायतका वस्तुमा पसलैपिच्छे फरकफरक मूल्य भएकोले सर्वसाधरण ठगिने क्रम चलिरहेको छ ।

एकातिर उपभोक्ताको आम्दानी खासै वृद्धि नभएपनि वर्षेनी १० देखि १५ प्रतिशत मूल्यवृद्धि भइरहेकै छ ।

सरकारी कर्मचारी र जागिरेहरुको तलब बढेपनि अधिकांश उपभोक्ताको आयस्तर उस्तै छ ।

त्यसमा पनि निम्न आय भएका र मजदूरहरु सबैभन्दा बढी मारमा परेका छन् । तर व्यापारीहरु भने आफूहरुले पनि बढी मूल्य तिर्नुपरेकोले मूल्यवृद्धि भएकोे बताउँछन् ।

जथाभावी र मनलाग्दी मूल्य राख्दा ठगिएको उपभोक्ताको गुनासो आइरहँदा यता उद्योग बाणिज्य संघ इलामका उपाध्यक्ष ईश्वर चिपालु भने मूल्यवृद्धि र कालोबजारी हुन नदिन दैनिक अनुगमन गरिहरेको बताउँछन् ।

चाडबाडको मौका छोपेर आफ्नो ठगी धन्दा बिस्तार गर्न सल्बलाइरहेका बिचौलियाहरुलाई कडा अनुगमन र नियमन नगरिएसम्म सर्वसाधरण यसरी नै ठगिइरहनेछन्

इलाममा मात्र होइन देशभरी अस्वाभाविक मूल्यवृद्धिको चर्को विरोध भइरहँदा सरकारले भने उचित कदम चाल्न नसकेको देखिन्छ ।