३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024


सभापतिलाई धेरै अधिकार गलत : शेखर कोइराला


0
Shares

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी एकजुट भएर संगठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।

दसैं, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गन्डक-टोखा प्रजातान्त्रिक समाजले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले संविधानको कार्यान्वयन, संघीयताको सफल व्यवस्थापन र विकासका लागि अन्ततः कांग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कांग्रेसको विधान परिमार्जनकाक्रममा सभापतिलाई अधिकारकेन्द्रित गर्ने सुझाव आएको जानकारी दिँदै उनले ‘यो गलत हो’–भने ।

‘पार्टी अधिकारलेभन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ’–उनले भने ।

जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारलेमात्रै पार्टी चलाउने मनसाय राख्छ, उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिए ।

सांसद भीमसेनदास प्रधानले कांग्रेसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनतासमक्ष पुर्‍याएर अहिलेको अन्यौलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताए ।

प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष तथा राससका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले नेपाली धर्म, संस्कृतिलाई महत्व दिने विषयमा कहीँ–कतैबाट पनि कन्जुस्याइँ गर्न नहुने टिप्पणी गरे ।

समाजका अध्यक्ष कृष्णविलास अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्वराज्यमन्त्री रामबहादुर गुरुड, पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारी, कांग्रेस क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, कांग्रेस टोखा नगरपालिकाका सभापति वसन्त श्रेष्ठ, हरिहर अधिकारी र रजनी थापालगायतले सो अवसरमा समसामयिक विषयमा मन्तव्य राखेका थिए । रासस