भैरहवा । रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।
गत वर्षभन्दा यसवर्ष स्थलमार्गी पर्यटकको संख्यामा वृद्धि भएको हो ।
रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०१८ को सेप्टेम्बर २५ सम्ममा १ लाख ३ हजार ९ सय २० जना विभिन्न देशका पर्यटक नेपाल भित्रिएको अध्यागमन कार्यालयले जनाएको छ ।
यी सबै पर्यटक तेस्रो मुलुकका हुन् । यो संख्या सन् २०१७ को यही अवधिभन्दा ८ हजार ७७ ले बढी हो ।
गतवर्ष यो नाका हुँदै ९५ हजार ८ सय ४३ पर्यटक नेपाल आएको अध्यागमन कार्यालयका प्रमुख गिरीराज खनालले बताए ।
बेलहियाबाट नेपाल आउने पर्यटकको मुख्य गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो ।
यहाँ आउने अधिकांश पर्यटक लुम्बिनीपछि पोखरा, चितवन, मनाङ, मुस्ताङ र काठमाडौंसम्म पुग्ने गरेका छन् ।
कतिपय लुम्बिनी र पोखरा घुमेर स्वदेश फिर्ता हुने गर्छन् । लुम्बिनी आएकामध्ये १० प्रतिशत पर्यटकले मात्र यहाँ रात बिताउँछन् ।
लुम्बिनी बाहेक पर्यटक भुलाउन अन्य ठाउँमा पुर्याउन नसक्दा पनि बसाई बढाउन नसकिएको नाट्टा प्रदेश पाँचका अध्यक्ष विष्णुप्रसाद शर्माले बताए ।
यस वर्ष ९४ देशका पर्यटक स्थलमार्गबाट नेपाल भ्रमणमा आएको अध्यागमनको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्