२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


जितिया पर्वको रौनक, यसरी मनाइन्छ जितिया (भिडियो)


13
Shares

राजु चौधरी (इमेज)

चितवन, असोज १६ । थारु समुदायका महिलाको विशेष पर्वकारुपमा रहेको जितिया पर्व तराई क्षेत्रमा धुमधामका साथ मनाइँदैछ ।

चितवनसहित थारु बाहुल्य तराईका २२ जिल्लाका महिलाहरुले जितिया पर्व मनाएका हुन् ।

चितवनका थारु समुदायका महिलाहरुले पनि नै धुमधामका साथ जितिया पर्व मनाइरहेका छन् ।

हिन्दु धर्मालवम्बी नेपाली महिलाहरुले मनाउने तीजजस्तै थारु समुदायले यो जितिया पर्वलाई महत्वका साथ मनाउने गरेका छन् । जितिया पर्वको आफ्नै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।

जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको थारु अगुवा बताउँछन् ।

थारु समुदायका धेरै चाडपर्वहरु लोप हुने अवस्थामा पुगेका छन् । त्यसैले जितिया पर्वलाई लोप हुन नदिन थारु महिला अगुवाहरु पनि सक्रिय छन् ।

उनीहरुले जितियाको महत्व र यस पर्वमा हुने क्रियाकलापबारे युवा–युवतीहरुलाई जानकारी दिने गरेका छन् ।

पछिल्लो समय जितिया पर्व सुरु हुनुपूर्व नै प्रतियोगितात्मक कार्यक्रमहरु पनि हुने गरेका छन् ।

जितिया पर्व लोप हुन नदिन चितवनका थारु महिलाहरु सक्रिय बनेका छन् ।

कृष्णपक्ष सप्तमी तिथिदेखि जितिया पर्व तीन दिनसम्म मनाउने प्रचलन छ । ब्रतालु महिलाहरु पहिलो दिन नजिकका नदी, तलाउमा गइ नुहाएर चोखिने गरेका छन् ।

दोस्रो दिनको बिहान भाले नबास्दै दर खाएपछि दिनभर निराहर रहन्छन् । दिनभर आफ्नो दुःख, पीडा समेटेर गीत गाइ नाचगान गर्ने गर्छन् । धार्मिक कथाअनुरुप सूर्यपुत्र जितवाहनको कथा सुन्छन् । यस कथालाई संकटमोचक एवं सफलताको प्रतीककारुपमा नि लिइन्छ ।

तेस्रो दिन (बुधबार) बिहान सूर्योदयसँगै स्नान गरी पूर्णरुपले उपवास बसेका ब्रतालुले स्थानीय नदी किनारमा विष्णु भगवानको आकृति बनाइ विधिवत् पूजा गरेपछि अन्न ग्रहण गर्छन् । योसँगै जितिया पर्वको समापन हुन्छ ।

भिडियो हेर्नुहोस्