Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


यु–१९ एसिया कपमा नेपालले युएईलाई हरायो


0
Shares

काठमाडौं, असोज १६ । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।

नेपालले समूहको अन्तिम खेलमा मंगलबार युएईलाई ३ विकेटले हराएको हो ।

२६९ रनको चुनौती नेपालले ४९ ओभर १ बल खेल्दै ७ विकेटको क्षतिमा पूरा गरेको हो ।

रोहितकुमार पौडेलले ९२ तथा सुन्दीप जोराले ६७ रन जोडेको नेपाली इनिङ्समा कप्तान आरिफ शेखले ३५ तथा रसिद खानले १४ बलमा अविजित रहँदै ३ छक्काको मद्दतले २७ रन बनाए ।

रोहित खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा २६८ रन बनाएको थियो ।

कप्तान फहाद नवाजले ८३ रन बनाएको इनिङ्समा रसिद खान, पवन सर्राफ र नन्दन यादवले समान २/२ विकेट लिए ।

यसअघि, भारतसँग १७१ रन तथा अफगानिस्तानसँग ३ विकेटले पराजित भएको नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

यो समूहबाट समूह विजेता बन्दै भारत र समूह उपविजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ । युएई भने जितविहीन रह्यो ।