हिमाल पौडेल/सहदीप केसी (इमेज)
काठमाडौं, असोज १६ । हिन्दूहरुको महान् चाड दसैं नजिकै आएको छ । आ–आफ्नो दक्ष र गच्छेअनुसार दसैं मनाउने चलन छ ।
अरुबेलाको तुलनामा चाडपर्वका बेला धेरै खर्च हुने र गर्ने गरिन्छ । दसैं–तिहारका बेलामामात्रै नेपालीले कुल गार्हस्थ उत्पादनको २० प्रतिशत खर्च गर्ने गरेका छन् ।
वि.सं. २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार छ भने वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत ।
जनसंख्या वृद्धिदरलाई आधार मानेर हेर्ने हो भने २०७५ सालसम्म आउँदा नेपालको जनसंख्या झन्डै तीन करोड पुगेको छ ।
नेपालमा ५४ लाख २७ हजार ३०२ परिवार संख्या छ भने औसत परिवार संख्या ४.८८ छ ।
केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०६६/६७ मा गरेको नेपाल जीवनस्तर सर्वेक्षणअनुसार वार्षिक १९ हजार २६१ रुपैयाँभन्दा कम आय भएकालाई गरिबीको रेखामुनि राखिएको छ ।
२०६८ को जनगणनाको तथ्यांकलाई आधार मान्दा यस्तो संख्या ५५ लाख ६३ हजार बढी छ ।
तर, आयस्तरका आधारमा मध्यम र उच्च आय भएका जनसंख्याको औपचारिक तथ्यांक कुनैपनि निकायसँग छैन ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाकाअनुसार प्रतिव्यक्ति औसत वार्षिक खर्चयोग्य आय एक लाख ३३ हजार अर्थात् मासिक ११ हजार रुपैयाँ छ । जबकि, दसैंका बेलामा एउटा परिवारको मासिक खर्च औसतमा ५० हजार रुपैयाँ हुने देखिन्छ ।
सन् २०१५/१६ को तथ्यांक विभागको घरधुरी सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालीको औसत वार्षिक उपभोग खर्च तीन लाख २२ हजार ७३० रुपैयाँ छ । त्यसमध्ये औसत ५४ प्रतिशत खाद्यान्नका लागि खर्च हुने गरेको छ । अर्थात् एक परिवारको मासिक २६ हजार ८९४ रुपैयाँ उपभोगमा खर्च हुने गर्दछ ।
अन्य महिनाको तुलनामा दसैंमा दोब्बर खर्च हुने अनुमान गर्नसकिने राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा बताउँछन् ।
दसैं–तिहारका बेलामात्रै कुल गार्हस्थ उत्पादनको २० प्रतिशत खर्च हुने गरेको कार्यकारी निर्देशक थापाको भनाइ छ ।
हुनेखानेदेखि विपन्न वर्गलेसमेत ऋण काडेरै भएपनि दसैं मनाउने चलन छ । दसैंमा धेरैले आफ्नो हैसियतअनुसारभन्दा पनि बढी खर्च गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्