काठमाडौं, असोज १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम गरेर विदेशबाट फर्कनेहरुको लगत राख्नका लागि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सुरु गरेको छ ।
सोमबार वैदेशिक रोजगार विभागमा श्रम मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले उक्त प्रणालीको उद्घाटन गरी सुरुआत गरेका हुन् ।
प्रणालीमार्फत् रोजगारदाताहरुको वास्तविक र पूर्णविवरण प्रविष्ट हुने भएकाले सूचना प्रणालीलाई व्यवस्थापन गर्नसमेत उक्त प्रणालीको भूमिका रहने उनले उल्लेख गरे ।
यस व्यवस्थासँगै श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियामा हुनसक्ने लापरबाही र नक्कली कागजात बनाइ ठगी गर्ने प्रवृत्तिको अन्त्य गर्न सहज हुने वैदेशिक रोेजगार विभागले जनाएको छ ।
यस प्रणालीले गर्दा कामदारको विवरण फरक नपर्ने, पासपोर्ट नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रक्रिया छरितो र सहज हुने मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारबाट फर्केकाहरुको फोटो र औंठाछापसमेत रहने यस प्रणालीको सुरुआतसँगै उजुरी र गुनासा पनि सम्बोधन गर्न सहज हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्