काठमाडौं, असोज १५ । तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माणकार्यका लागि निर्माण कम्पनीहरुसँग सोमबार ठेक्का सम्झौता गरेको हो ।
आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सीएमसीसँग सम्झौता भएको हो ।
तनहुँ हाड्रोपावरका तर्फबाट प्रबन्ध सन्चालक प्रदीपकुमार थिके र सीएमसीका तर्फबाट प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सीएमसीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँमा खरिद सम्झौता भएको हो ।
यस्तै, आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सन्चालनलगायतका दोस्रो प्याकेजका कामका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग सम्झौता भएको छ ।
कम्पनीका तर्फबाट थिके र सिनो हाइड्रोकातर्फबाट प्रतिनिधि छेङ सोएस्याङले हस्ताक्षर गरेका हुन् ।
कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र तीन अर्ब ८३ करोड १४ लाख रुपैयाँमा खरिद सम्झौता भएको हो ।
आयोजनाको दुवै प्याकेजको निर्माणकार्य दुई महिनापछि सुरु गर्ने र सम्पूर्ण निर्माणकार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य रहेको छ ।









प्रतिक्रिया दिनुहोस्