काठमाडौं, असोज १५ । राजधानीमा जारी आदिअवादी (एभीएल) महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
सेमिफाइनलमा चितवन टाइगर्सले नेपाल पुलिस क्लबसँग तथा सशस्त्र प्रहरीले न्यू डायमन्ड एकेडेमीसँग खेल्ने तय भएको छ ।
प्रतियोगितामा सहभागी ६ टिममध्ये पोखरा पिंकेज र त्रिभुवन आर्मी क्लब भने समूह चरणबाटै बाहिरिएका छन् ।
प्रतियोगिताअन्तर्गत् सोमबार भएको खेलमा चितवन टाइगर्सले न्यू डायमन्डलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हरायो ।
पहिलो सेट २५–१९ ले गुमाएको न्यू डायमन्डले दोस्रो सेट भने २९–२७ ले जितेको थियो ।
तेस्रो सेट चितवनले २५–१९ ले जितेपछि पुनः अग्रता लियो । चौथो सेटमा चितवनलाई कडा टक्कर दिँदै न्यू डायमन्डले २६ अंकसम्म पुर्याएको थियो ।
तर, चितवन २८–२६ ले विजयी हुँदै समूह ‘ए’को विजेता बन्न सफल भयो । न्यू डायमन्ड समूहको उपविजेता बन्यो ।
सोमबारै भएको अर्को खेलमा सशस्त्र प्रहरीले पोखरा पिंकेजलाई ३–० को सोझो सेटमा हरायो । सशस्त्र २५–१३, २५–११ र २५–१५ ले विजय भयो ।
नेपाली भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशीको एभीएल विजेताले ६ लाख, उपविजेताले तीन लाख तथा तेस्रो हुनेले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एकथान स्कुटर र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।








प्रतिक्रिया दिनुहोस्