२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024


दसैंका यात्रीका लागि यातायातको अवस्थाबारे तत्काल प्रस्ट पार्न निर्देशन


0
Shares

काठमाडौं, असोज १५ । प्रतिनिधिसभा अन्तर्गत्को सार्वजनिक लेखा समितिले दसैंमा घर जाने यात्रीहरुका लागि यातायात साधनको व्यवस्था र सुरक्षालाई निरन्तर अनुगमन गरी समस्या उत्पन्न हुन नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिले ४ दिनभित्र बसको टिकटको अवस्था, यात्रीको चाप र यात्री सुरक्षाको अवस्थाबारे प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको सोमबार सिंहदरबारमा बैठकले यस्तो निर्देशन दिएको हो ।

यस्तै, समितिले दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थको सहज आपूर्ति र उपभोग्य वस्तुको कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि निर्देशन दिएको छ ।

साथै, दैनिक उपभोग्य वस्तुको अवस्था तथा मूल्यबारे प्रतिवेदन दिन आपूर्ति मन्त्रालयलाई निर्देशन दिइएको छ ।

समितिले यातायात क्षेत्रको अवस्थाबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई सोमबारको समितिको बैठकमा बोलाएको थियो ।

बैठकमा सांसदहरुले चिनी आयातमा कोटा तोक्ने सरकारी निर्णयमाथि आशंका व्यक्त गर्दै छानबिनको माग गरेका छन् ।

उनीहरुले पर्याप्त तयारी र वस्तुस्थिति नबुझी चिनीमा कोटा तोकिएकोसमेत आरोप लगाए ।

सरकारको उक्त निर्णयले नै बजारमा चिनीको मूल्यमा अत्यधिक वृद्धि भएको आरोप उनीहरुले लगाए ।

बैठकमा वाणिज्य तथा आपूर्तिसचिव चन्द्र घिमिरेले भने चिनीको आयात अत्यधिक भएकाले कोटा तोक्नुपरेको तर्क गरे ।