Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


यु–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार


0
Shares

काठमाडौं, असोज १५ । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

पहिलो खेलमा भारतसँग १७१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा सोमबार अफगानिस्तानसँग ३ विकेटले स्तब्ध भयो ।

नेपालले दिएको १३२ रनको सामान्य चुनौती अफगानिस्तानले ३७ ओभर ३ बलमै ७ विकेटको क्षतिमा पूरा गरेको हो ।

सूर्य तामाङले ४० रन खर्चेर ४ विकेट लिएपनि टिमलाई जिताउन सकेनन् । रसिद खान, पवन सर्राफ र सागर ढकालले समान १/१ विकेट लिए ।

यसअघि, सभारमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १३१ रनमात्र बनाउन सकेको थियो ।

रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन जोडेको इनिङ्समा रसिद खानले २९, कप्तान आसिफ शेखले २० तथा रित गौतमले १० रन बनाएबाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । चार खेलाडीले रनको खाता पनि खोल्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्नेक्रममा अज्मातुल्लाह ओमरजाइले ४ विकेट लिए ।

लगातार दोस्रो हारसँगै नेपाल एक खेल खेल्नुअघि नै सेमिफाइनल प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ ।

लगातार दुई खेल जितेका समूहका भारत र अफगानिस्तान सेमिफाइनलमा पुगेका छन् । चौथो टिम युएई पनि लगातार दुई हारसहित बाहिरिएको छ ।

अब नेपालले समूहको अन्तिम खेलमा मंगलबार युएईसँग खेल्नेछ ।