काठमाडौं, असोज १४ । राजधानीमा जारी आदिअवादी महिला भलिबल एभीएल प्रतियोगिताको सेमिफाइनलमा न्यू डायमण्ड एकेडेमी र चितवन टाईगर्स प्रवेश गरेका छन् ।
आइतबार त्रिभुवन आर्मी क्लवविरुद्ध भएको संघर्षपूर्ण खेलमा ३–२ को जित निकाल्दै न्यू डायमण्डले सेमिफाइनलमा ठाउँ बनाएको हो । पहिलो सेट २५–१५ ले जितेको न्यू डायमण्डले त्यसपछि लगातार दोश्रो र तेश्रो सेट २२–२५ र १८–२५ ले गुमाएपछि २–१ ले पछि परेको थियो । तर, त्यसपछि चौथो सेट २५–२२ ले र पाँचौ सेट १५–११ ले जितेपछि न्यू डायमण्ड एक खेल अगाडि नै अन्तिम चारमा पुग्न सफल भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा चितवन टाईगर्ससँग ३–० को सेटमा पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘ए’ बाट एक–एक खेल जितेका न्यू डायमण्ड र चितवन टाईगर्सको आपसी भिडन्तबाट समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।
नेपाल भलिबल संघ र आदिअवादी फाउन्डेसनको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा सशस्त्र प्रहरीले विजयी शुरूआत गरेको छ । आफ्नो पहिलो खेलमा सशस्त्रले नेपाल पुलिस क्लवलाई २५–१९,२५–२२ र २५–२० को सोझो सेटमा हरायो । समूह ‘बी’ मा सशस्त्रले एक खेलबाट र पुलिसले २ खेलबाट समान ३–३ अंक बनाएका छन् ।
सशस्त्र र पोखरा पिङ्केजबीचको लिग खेल बाँकी छ ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राशीको एभिएल विजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।








प्रतिक्रिया दिनुहोस्