Logo २१ असार २०८३, आइतबार | Mon Jul 6 2026


स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न युवा नेतृत्वको जोड


0
Shares

काठमाडौं, असोज १४ । रोजगारीको अभावमा विदेश भौतारिनुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै रोजगारीको उपयुक्त अवसर सिर्जना गरिनुपर्नेमा युवा नेतृत्वले जोड दिएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका युवा सङ्घसङ्गठनका नेतृत्वले बेरोजगारीका कारण युवा वर्गमा विचलन पैदा गरेको भन्दै सरकारले तत्काल कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । 

युवा सङ्घ नेपालका अध्यक्ष रमेश पौडेलले रोजगारीका अभावमा युवाशक्ति विचलित हुँदै जाँदा सामाजिक विकृति देखिएको बताए ।

उनले सार्वजनिक क्षेत्रमा रोजगारीको प्रशस्त अवसर भएको उल्लेख गर्दै कृषिलाई उद्योगमा रुपान्तरण गरेर लैजाँदा केही हदसम्म बेरोजगारी समस्या हल हुने बताए ।

युवा जनशक्तिको सहभागितामा ‘विकास दस्ता’ निर्माण गरेर ठूला आयोजना निर्माण गर्न सरकारलाई सुझाव दिँदै उनले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगाउनसके विदेश पलायन रोक्न सकिने बताए ।

योङ कम्युनिष्ट लिग (वाइसिएल)का सचिव विश्वास डिसीले जनतालाई उत्साह पैदा गर्ने कार्यक्रम ल्याउन सुझाव दिँदै रोजगारी सिर्जनाको अवसरलाई प्राथमिकीकरण गर्नुपर्ने बताए । उनले बढ्दो विदेश पलायन रोक्न प्रभावकारी र आकर्षक कार्यक्रम सञ्चालन गर्नु आवश्यक भएको बताए ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम कार्कीले राष्ट्रिय गौरवका आयोजनामा युवाको सहभागिता सुनिश्चित गर्नसके आयोजनाप्रति अपनत्व पनि बढ्ने र बेरोजगारीको समस्या हल हुने बताए ।

निजी क्षेत्रका व्यवसायीले व्यवसाय दर्ताको बखत कतिको सङ्ख्यामा रोजगारी उपलब्ध गराउन सकिन्छ भनी उल्लेख गर्नुपर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताए ।

सङ्घीय समाजवादी फोरम नेपालको युवा सङ्गठनका सचिव सान्तकुमार राईले साना उद्यमी तथा निजी क्षेत्रलाई लगानीकर्तालाई राज्यले सहयोग गरी धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्न उद्योगीलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका युवा सङ्गठनका रञ्जीतकुमार सिंहले शिक्षित बेरोजगारको सङ्ख्या बढिरहेको सन्दर्भ र वैदेशिक रोजगरीलाई न्यूनीकरण गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम महत्वपूर्ण हुने बताए ।

प्रत्येक स्थानीय तहमा हुने विकासे आयोजनालाई सोही क्षेत्रका युवालाई सहभागी गराएर रोजगारी दिन सकिने उनको भनाइ थियो ।

कार्यक्रममा श्रम मन्त्रालय उपसचिव डा लोकनाथ भुसालले बेरोजगार व्यक्तिलाई न्यूनतम् रोजगारीको प्रत्याभूति गराउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

रोजगार कार्यक्रमले उत्पादनशील रोजगारी, रोजगारीको अवसर तथा सेवाको न्यायपूर्ण र सहज वितरण गरी जीवनयापनमा सहजता एवं गरीबी निवारणमा सहयोग पुर्‍याइ समृद्धि हासिल गर्ने लक्ष्य राखेको मन्त्रालयले जनाएको छ । (रासस)