१८ भाद्र २०८२, बुधबार | Wed Sep 3 2025


काठमाडौं महानगरले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने


0
Shares

काठमाडौं, असोज १४ । काठमाडौं महानगरपालिकाले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने भएको छ ।

महानगरपालिकाको न्यायिक समितिले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । उपमेयर एवं समितिका संयोजक हरिप्रभा श्रेष्ठ खड्गीले विभिन्न किसिमको समस्या र विवादहरुको सकारात्मक समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गर्ने बताइन् ।

समितिमा हालसम्म सम्बन्ध विच्छेदको उजुरी ७० वटा परेकोमा उजुरीकर्ता सबै पुरुष रहेको जानकारी पनि उनले दिइन् । हप्ताको दुई दिन समितिको बैठक गरी निर्णयहरुलाई तीव्रता दिने पनि उनले बताइन् ।

समितिमा सबैभन्दा बढी घर कोठा खाली गराउने, मजदुरको दैनिक ज्याला, सार्वजनिक बाटो मिचेको, ध्वनि प्रदुषण लगायतका १४ वटा विषयमा मुद्दा र उजुरी परेकोसमेत उनले जानकारी दिइन् ।