नवीन सिंह
जनकपुर, असोज १४ । प्रदेश नम्बर २ मा सरकार गठन भएको ७ महिना बितिसकेको छ । तर सरकारले जनभावना र प्रतिबद्धता अनुसार काम गर्न नसकेको गुनासो जनजनमा देखिन थालेको छ ।
सरकारले भने कर्मचारीको अभाव र संघीय सरकारबाट अपेक्षित सहयोग नहुँदा काम गर्न समस्या भइरहेको बताएको छ ।
बिहानीले दिनको संकेत गर्छ भनेझैँ ८ महिना पुग्न लाग्दासम्म प्रदेश सरकारको कार्यशैली हेरिरहेका जनतामा खासै उत्साह देखिएको छैन । सांसद र सरकारका मन्त्रीहरु जनताका समस्या र चाहना सम्बोधन गर्नुभन्दा पनि सभासमारोहमा गफ छाट्ने साथै भवन उद्घाटन गर्ने जस्ता सामान्य काममा बढी व्यस्त भएको टिप्पणी सुनिन थालेको छ ।
गर्नुपर्ने कामहरु थुप्रै छन्, प्रदेशबाट बन्नुपर्ने कानुनको अभावमा स्थानीय तहले पनि प्रदेश सरकारप्रति गुनासो गरिरहेका छन् । विकासका काम हुन नसकेको अवस्था एकातिर छ भने अर्कोतिर स्थायी राजधानी र नामांकनको छिनोफानो हुन सकेको छैन ।
सरकारको काम कछुवाको गतिमा भएको प्रमुख प्रतिपक्षी कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले टिप्पणी गर्छन् ।
यद्यपि प्रदेशमा १३ वटा ऐन पारित भइसकेको छ भने केही छलफलको क्रममा छन् । अधिवेशनको अभावमा करिब एक महिनादेखि संसद ठप्प छ । तर प्रदेश सरकार भने कर्मचारी अभाव र संघीय सरकारको कमजोरी देखाएर आफ्नो बचाउ गरेको देखिन्छ ।
कर्मचारी अभाव र संघीय सरकारले उचित व्यवस्था नगर्दा मन्त्रीहरु कामै नपाएर हातमा हात राखेर बस्नु परिरहेको प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल बताउँछन् ।
जनअपेक्षा र सुधार गर्नुपर्ने विषयहरु धेरै नै छन् । अभ्यास र अनुभवको अभावमा यति छिट्टै ठूलै प्रतिफल नआउनु त स्वाभाविक नै हो तर गर्न सक्ने कतिपय काममा पनि उल्लेख्य प्रगति नदेखिँदा सरकारले आफूलाई भने सच्याउन जरुरी छ ।








प्रतिक्रिया दिनुहोस्