सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-७ स्थित गार्मा माध्यमिक विद्यालयले शैक्षिक सुधारको लक्ष्य राखेर एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान शुरु गरेको करिब ६ वर्षपछि अभियान पूरा गरेको छ ।
अक्षय कोषमा हालसम्म एक करोड १७ लाख ४६ हजार २ सय ४७ रुपैयाँ संकलन गरेर एक कार्यक्रमकाबीच विद्यालयलाई एक करोड १५ लाख रुपैयाँ अक्षयकोषका रूपमा हस्तान्तरण गरिएको हो । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा आवश्यकताअनुसार दीर्घकालीन रूपमा उपयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छ। रकम हस्तान्तरण गर्दै संघीय सांसद प्रकाश सिं कार्कीले शिक्षा देसको मेरुदण्ड भएकोले शिक्षाको लगानी खेर नजाने बताउनुभयो ।
त्यस्तै, सोदुदुधकुण्ड नगरपालिकाका नगर प्रमुख नाम्गेलजाङबु शेर्पाले देसको टड्कारो आवश्यकता शैक्षिक सुधार भएकोले शिक्षाको गुणस्तर उकास्न सबै लाग्नुपर्नेमा जाेड दिनुभएकाे छ। अक्षयकोष सङ्कलन अभियानमा हालसम्म १ सय ४४ जना दाताले योगदान गरेकाे आर्थिक सङ्कलन समितिका सह-संयोजक एवंम वडा अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
विद्यालयको दिगो स्रोत व्यवस्थापनका लागि अक्षयकोषको अवधारणा अगाडि सारेको अध्यक्ष शेर्पाले बताउनुभएकाे छ। उहाँका अनुसार दक्षिण कोरियाको सोल, अमेरिका र काठमाडौं लगायत विभिन्न स्थानमा रहेका गार्मा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा अन्य व्यक्तिको नेतृत्वमा अभियान सञ्चालन गरी रकम सङ्कलन गरिएको हो ।
विद्यालयको शैक्षिक विकासमा दीर्घकालीन आर्थिक स्रोत सुनिश्चित गर्ने उद्देश्यले शुरु गरिएको अभियानमा स्वदेश तथा विदेशमा रहेका विद्यालयसँग सम्बन्धित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको विद्यलयका प्रधानाध्यपक विनोद सिं तामाङले बताउनुभयो । अभियानअन्तर्गत सङ्कलित रकमलाई अक्षय कोषमा राखी त्यसबाट प्राप्त हुने आम्दानी विद्यालयको शैक्षिक गतिविधि तथा आवश्यक क्षेत्रमा खर्च गर्ने लक्ष्य राखिएको छ ।
कक्षा ९ देखि कृषि विषयको पढाइ हुँदै आएको यो विद्यालयमा अक्षय कोषले विद्यालयको दीर्घकालीन शैक्षिक विकासका लागि थप आधार तयार भएको विद्यालय पक्षले जनाएको हाे । विद्यालयमा २०६४ सालदेखि सुस्तश्रवण (साङ्केतिक) कक्षासमेत सञ्चालनमा छ ।
वाह्य सहयोगमा ७० जना विपन्न परिवारका बालबालिकालाई छात्रवासपा राखेर शिक्षा आर्जनको वातावरण बनाएको विद्यालयलाई सरकारी निकायको अतिरिक्त गैरसरकारी सस्था हिमालयन केयर फाउण्डेसन र रीड नेपालले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन तथा शैक्षिक सामग्री उपलब्ध गराउने कामपा सहयोग गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्