एजेन्सी । प्यालेस्टाइनको गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउनेको संख्या बढेसँगै शव गाड्ने ठाउँकाे अभाव हुँदै गएको छ।
समाचार संस्था अलजजीराले गाजामा हजारौं शव बगैँचा, विस्थापितहरूका लागि बनाइएका शिविर, विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाडिएकाे जनाएको हाे । युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा अधिकांश चिहानमा ढुङ्गा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ ।
सन् २०२५ को अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्धविरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारहरूले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूबाट आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका हुन् । युद्धविरामको घोषणा भएयता करिब १ हजार २ सय जना प्यालेस्टिनी मारिएका छन् । ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ ।
गाजाका अधिकारीहरूले अस्पताल परिसरभित्रका ७ वटा सामूहिक चिहानबाट ५ सय २९ जना प्यालेस्टिनीको शव निकालिएको बताएका हुन् । सन् २०२३ मा गाजामा युद्ध शुरू भएयता गाजामा ७३ हजार जना भन्दा बढी मारिएका छन् । गाजाको ‘धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालय’ का अनुसार युद्ध शुरू भएयता ४० भन्दा बढी चिहान ध्वस्त पारिएका छन् ।
इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कडा प्रतिबन्धहरू पनि लागू गरेको हाे । जसले गर्दा परिवारहरूका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको सङ्ख्या अझ घटेको छ । इजरायली बमबारी र जबरजस्ती विस्थापनको आदेशका कारण लाखौँ प्यालेस्टिनी आफ्ना घर छोड्न बाध्य भएपछि यसअघि चिहानका लागि तोकिएका क्षेत्रहरू विस्थापितहरूका लागि आश्रयस्थलमा परिणत गरिएकाे हाे ।
गाजाका अधिकारीहरूका अनुसार चिहानमा राखिने ढुङ्गाजस्ता सामग्रीको अभावका कारण अहिले शव गाड्ने खर्च २ सय ३५ डलरदेखि ३सय ३५ डलरसम्म पुगेको छ । राम्रो समाधि–शिलाका लागि रकम नजुटेसम्म भत्किएका भवनका इँटा–ढुङ्गा, माटो वा जस्तापातालाई अस्थायी समाधि–चिह्नका रूपमा प्रयोग गरिन्छ । धार्मिक बन्दोबस्ती मन्त्रालयका सञ्चार अधिकारी इक्रामी अल–मदलालका अनुसार युद्ध शुरू हुँदा नै गाजाका ६० वटा चिहानमध्ये धेरैजसोको क्षमता भरिइसकेको थियो ।
मन्त्रालयले शव गाड्ने नयाँ ठाउँहरूको खोजी गरिरहेको छ । अधिकारीहरूका लागि अस्थायी ठाउँबाट चिहानस्थलहरूमा शव सार्ने कार्य चुनौतीपूर्ण बनेको हाे। १९ वर्ष भन्दा बढी समयदेखि चिहान खन्ने काम गर्दै आएका ५० वर्षीय ताफेश अबु हाताबले गाजा युद्ध आफ्नो पेशागत जीवनको सबै भन्दा कठिन समय भएको बताएका हुन् ।
ताफेश काम गर्ने खान युनिसको चिहानमा युद्धको शुरूमा करिब ६० वटा चिहान थिए । अहिले त्यहाँ ६ हजार वटा चिहान छन् । युद्धको एक समयमा उनले दैनिक करिब ३५ वटासम्म चिहान तयार पार्ने जनाइएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्