६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


निजी विमानप्रति प्रधानमन्त्रीको मोहः राष्ट्रिय ध्वजाबाहक नचढेपछि सर्वत्र आलोचना


0
Shares

अक्कल कुँवर/ईमेज:

काठमाडौं, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार नीजि कम्पनीको विमान मार्फत छिमेकी मुलुक चीनको भ्रमणमा गएका छन् ।

राष्ट्रिय ध्वजावाहक विमानलाई पन्छाउँदै सरकार प्रमुखले नै निजी कम्पनीको विमान प्रयोग गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

सम्पन्न मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखको विदेश भ्रमणका लागि आफ्नै विमान हुन्छ । विदेश भ्रमणका लागि छुट्टै विमान नहुने देशका राष्ट्रप्रमुख वा सरकार प्रमुख भने विदेश भ्रमणका लागि राष्ट्रिय ध्वजाबाहक विमान नै प्रयोग गर्छन् ।

जसले एकातिर सरकारले राष्ट्रिय ध्वजावाहक विमानलाई विश्वास गरेको ठहर्छ भने अर्कातिर विमानको बजार प्रबद्र्धनमा ठूलो सहयोग पुग्छ ।

तर, नेपाल मात्र अपवाद हो,जुन मुलुकका कार्यकारी प्रमुखले विदेश भ्रमणका लागि राष्ट्रिय ध्वजाबाहक विमानलाई पन्छाएर निजी कम्पनीको विमान प्रयोग गरेका छन् । 

प्रधानमन्त्री ओली निजी विमान कम्पनी हिमालय एयरलायन्समार्फत चीन गए । यो पटक मात्र नभई पहिलो पटक प्रधानमन्त्री भएका बेला पनि प्रधानमन्त्री ओलीको रोजाईमा हिमालय एयरलायन्स नै परेको थियो ।

हुन त प्रधानमन्त्री ओलीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक विमान पाखा लाग्नुमा प्रधानमन्त्री मात्र दोषि छैनन् । सरकारी वायु सेवा कम्पनी पनि उत्तिकै जिम्मेवार छ ।

सरकारी वायु सेवा कम्पनी नेपाल बायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमले विमान व्यवस्थापन गर्न नसकेकै कारण निजी कम्पनीको विमान प्रयोग गर्नुपरेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय ध्वजावाहक विमानलाई बेवास्ता गरेर नीजि कम्पनीको एयरलायन्स प्रयोग गरेकोमा आलोचना भईरहेको छ ।

यो भन्दा पनि सरकार प्रमुखको विदेश भ्रमण नीजि विमान कम्पनी प्रयोग हुँदा अन्तर्राष्ट्रियस्तरमा नेपालको स्थिति पनि प्रतिबिम्बित भएको छ ।

तर, वायुसेवा निगमका महाप्रबन्धक कंसाकारले यो विषयलाई अनावश्यक प्रचार गर्नुभन्दा पनि मुलुकमा राष्ट्रिय ध्वजाबाहक विमान थप्नुपर्ने औचित्य प्रष्ट भएको बताए ।

प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले भने यो विषयमा औपचारिक प्रतिक्रिया दिन नमाने पनि वायुसेवा निगमसँग छलफल गरिएको जिकिर गरेका छन् ।

तर, नेपाल वायु सेवा निगमका एक उच्च अधिकारीले भने वायुसेवा निगमको विमान प्रयोग गर्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट कुनै पनि औपचारिक पत्र नआएको दाबी गरेका छन् ।

कारण जे सुकै भए पनि मुलुकको कार्यकारी प्रमुख नै नीजि कम्पनीको विमान प्रयोग गरेर औपचारिक विदेश भ्रमण गर्नुले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको छवि धुमलिएको छ ।