Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


अविरल वर्षाका कारण कास्कीको वीरेठाँटी क्षेत्रमा ठूलो क्षति, सडक-पुल पनि बगे


182
Shares

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुगेको छ।

विशेषगरी सेही गाउँपालिका-८ स्थित वीरेठाँटी क्षेत्र बाढी र कटानबाट बढी प्रभावित भएको हाे । कास्की प्रहरीले मोदी खोलामा आएको बाढीले वीरेठाँटीबाट पर्यटकीय क्षेत्र घान्द्रुक जाने सडकका विभिन्न खण्डहरू बगाएको जनाएकाे छ। वीरेठाँटी नजिकैको करिब १ सय मिटर सडकखण्ड मोदी खोलाले कटान गरेपछि उक्त क्षेत्रको यातायात पूर्ण रूपमा ठप्प भएको छ। सडकको जग नै बगाएका कारण पैदल यात्रीका लागि समेत आवतजावत गर्ने बाटो बाँकी नरहेको प्रहरीले जनाएको हाे।

त्यसैगरी, बाढीले कास्की र पर्वतको सीमानामा पर्ने मोदी खोलामा एउटा पुल,एक मन्दिर समेत बगाएको छ । खोलाको बहाव बढेपछि सोही क्षेत्रमा तीन जना व्यक्तिहरू अड्किएको र उनीहरूको उद्धारका लागि पहल भइरहेको जनाइएकाे हाे। वर्षा नरोकिएका कारण मोदी खोलाको सतह बढ्ने क्रम जारी रहेको र सडक सञ्जाल विच्छेद हुँदा त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

सुरक्षा निकायले सोही क्षेत्रमा शतर्कता अपनाउन र बाढीग्रस्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको हाे।