
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री शाह मोहमद कुरैसीले भारतले पाकिस्तानसँगको वार्ताको मौका तीन पटक गुमाएको बताएका छन् ।
संयुक्त राष्ट्र संघको ७३ औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानी विदेशमन्त्री कुरैसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रवैयाका कारण विवादास्पद जम्मु कश्मिरबारे वार्ता गर्ने मौका तीनचोटी गुमेको बताएका हुन् ।
उनले भारत र पाकिस्तानबीच थुप्रै विषयमा गम्भीर छलफल गर्नुपर्ने भए पनि भारतले बेवास्ता गरेको आरोप लगाए ।
जम्मु कश्मिरको मुद्दा गम्भीर भएको र त्यहाँ शान्ति बहालीका लागि भारत बाधक भएको आरोप पनि उनले लगाए ।
७० वर्षदेखि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको मुख्य एजेण्डाका रुपमा रहेको जम्मु कश्मिर मुद्दा हालसम्म पनि यथावत रहेको भन्दै उनले जम्मु कश्मिरको शान्ति स्थापना नभएसम्म दक्षिण एशियामा शान्ति कायम नहुने जिकिर गरे ।
भारतले सैन्य कारबाही नरोकेको सन्दर्भमा कुरैसीले यसको परिणाम भारतले भोग्नुपर्ने चेतावनी समेत लिए ।
सम्बोधनकै क्रममा कुरैसीले अफगानिस्तानमा जारी आतंकवादका कारण पाकिस्तान चिन्तित बनेको जिकीर गर्दै अफगानिस्तानलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
यसअघि राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आतंकवादलाई बढावा दिएको आरोप लगाउँदै पाकिस्तानको चर्को आलोचना गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्