Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


मधेशमा शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै, उच्च सुरक्षा शतर्कता

प्रहरी कर्मचारीलाई बिदामा नबस्न प्रधान कार्यालयकाे सर्कुलर

13
Shares

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई बिदामा नबस्न सर्कुलर गरेको छ।

प्रहरी प्रधान कार्यालयले बिहीबार देशैभरका प्रहरी इकाइलाई सर्कुलर जारी गर्दै किरिया बिदा र प्रसूति बिदा बाहेक अन्य कुनै पनि बिदा स्वीकृत नगर्न निर्देशन दिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताउनुभएकाे छ। उहाँले तराईका विभिन्न जिल्लामा सुरक्षा चुनौती बढेकाले अधिकतम प्रहरी जनशक्ति परिचालन गर्नुपर्ने अवस्था आएको बताउनुभएकाे हाे । त्यसैले अत्यावश्यक अवस्थाबाहेक अन्य बिदा तत्कालका लागि रोकिएको छ।

सुनसरीमा दुई समूहबीच भएको झडपपछि शुरु भएको प्रदर्शन विस्तारै मोरङ, सिरहा, धनुषा र पर्सासम्म फैलिएको हाे । सुरक्षा कारबाहीका क्रममा ३ जनाको मृत्यु भएपछि आन्दोलन झन् उग्र बनेको सुरक्षा निकायले जनाएकाे छ। तनाव बढ्दै गएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सुनसरी, मोरङ, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेका छन् ।

सुरक्षा व्यवस्था कडा पार्न साेही जिल्लामा थप प्रहरी परिचालन गरिएको हाे ।