Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


दाङमा सवारी दुर्घटनामा परी एक जनाको निधन, ३ घाइते


0
Shares

काठमाडाैं । दाङमा सवारीसाधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गढवा गाउँपालिका–५ चिसापानीस्थित लमही–कोइलाबास सडकखण्डमा मलखाद बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । बुधबार साँझ ५ बजे कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम प्रक्रियाबाट प्राप्त ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको जीप अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका दाङको गढवा गाउँपालिका–६ गढवा बजारका २६ वर्षीय सागर कुमालको उपचारका क्रममा मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका कुमाललाई प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको लमही अस्पतालमा उपचार गरिएको थियो ।

उनीहरूको अवस्था सामान्य रहेकाले उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले बताएकाे छ ।