काठमाडाैं। नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटकमैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसायीबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन तथा प्रहरी–व्यवसायी सहकार्यका विषयमा विस्तृत छलफल गरिएको हो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको उल्लेख गर्नुभयो । उहाँले व्यवसायी र प्रहरीबीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएकाे छ ।
अन्तरक्रियाका क्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गहरूमा हुने सम्भावित दुर्घटना र आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने माग राख्नुभयो । त्यस्तै, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराउनुभएकाे छ।
पोखरा पर्यटन वर्षका संयोजक गोपी भट्टराईले भारतीय पर्यटकको आगमन वृद्धि भइरहेको समयमा गण्डकी प्रदेश र कास्की प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । सोही अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआइजी० वीरेन्द्र घर्तीले होटल तथा भाडाका कोठाहरूमा लामो समय बस्ने व्यक्तिहरूबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहेको जानकारी दिनुभएकाे छ।
लेकसाइड क्षेत्रका विभिन्न पर्यटन संवद्ध संघ–संस्था, होटल, ट्राभल तथा ट्रेकिङ व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले सुरक्षित पर्यटनका लागि निजी क्षेत्र र सुरक्षा निकायबीचको सहकार्यलाई अझ सशक्त बनाउनुपर्नेमा सामूहिक प्रतिवद्धता जनाएका थिए ।









प्रतिक्रिया दिनुहोस्