१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


जेलमै अन्तर्वार्ता, अदालतको अनुमति


0
Shares

ब्राजिल, असोज १३ । कारावासको सजाय भोगिरहेका ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासियो लुला डा सिल्भालाई जेलबाटै सन्चारमाध्यमलाई अन्तर्वार्ता दिन अनुमति दिइएको छ ।

देशको सर्वोच्च अदालतले उनलाई कुरिटीवा जेलबाटै दुईओटा सन्चारमाध्यमलाई अन्तर्वार्ता दिन शुक्रबार अनुमति दिएको हो ।

ब्राजिलको अत्यन्त लोकप्रिय दैनिक पत्रिका ‘फोल्हा डे साओ पाउलो’को पटक–पटकको आग्रहपछि न्यायाधीश रिकार्डो लेवान्डोवस्कीले यस्तो आदेश दिएको जनाइएको छ ।

सो पत्रिकाले मुलुकको दुईपटक राष्ट्रपति भइसकेको व्यक्तिलाई सन्चारमाध्यममा बोल्न नदिएर प्रेस स्वतन्त्रतामा बाधा पर्ने तर्क गर्दै अन्तर्वार्ताका लागि अनुमति दिन माग गरेको थियो ।

भ्रष्टाचार गरेको आरोपमा पूर्वराष्ट्रपति लुलालाई गत अप्रिलदेखि करावासमा राखिएको छ ।

शुक्रबारको आदेशसँगै लोकप्रिय पूर्वराष्ट्रपति लुलालाई सन्चारमाध्यमलाई अन्तर्वार्ता दिन बाटो खुलेको छ ।

उनलाई सर्वोच्च अदालतले नै भ्रष्टाचार अभियोगमा १२ वर्षको कैद सजाय सुनाएको हो ।

आफूमाथि लगाइएका सबै आरोप राजनीतिकरूपमा अभिप्रेरित भएको लुलाको दाबी छ । रासस/सिन्ह्वा