Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


फुटपाथ पसल हटाउँदै नेपालगन्ज उपमहानगरपालिका


0
Shares

बाँके, असोज १३ । नेपालगन्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु गरेको छ ।

सडकछेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गर्न थालिएपछि उपमहानगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।

सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाईसमेत आवत–जावतमा समस्या भएपछि उपमहानगरपालिकाले अभियान सुरु गरेको उपमहाननगरपालिका उपप्रमुख उमा थापामगरले जानकारी दिइन् ।

‘जथाभावीरूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन सुरु गरेका हौं’–उपप्रमुख थापामगरले भनिन् ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन उपमहानगरपालिकाले एक हप्तादेखि सार्वजनिक सूचना जारी गरी माइकिङसमेत गरे पनि अटेर गरेपछि हटाउन सुरु गरिएको उनले बताइन् ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन सुरु गरेपछि पैदलयात्री तथा स्थानीय पनि हर्षित भएका छन् ।

उपप्रमुख थापामगरले भनिन्–‘पैदलयात्रीले सहजरूपमा आवत–जावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान सुरु गरेका हौं ।’

फुटपाथ अतिक्रमण गरी अव्यवस्थितरूपमा राखिएको ठेलाका कारण पैदलयात्रीलाई हिँड्नसमेत कठिनाइ भएकाले अभियान सुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर–१ का अध्यक्ष प्रमोद रिजालले बताए ।

उनले भने–‘फुटपाथ पसलका कारण दुर्घटनासमेत निम्त्याउन थालेपछि यसलाई हटाउन सुरु गरेका हौं ।’ रासस