Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


ओखलढुंगाकाे खोलामा हजार र ५ सयका नोट बगेपछि स्थानीय चकित (भिडियाे रिपोर्ट)

राङ्चा खोलामा नोटको बाढी !

0
Shares

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी र लिखु गाउँपालिकाको सीमानामा पर्ने राङ्चा खोलामा हजार र पाँच सय दरका सक्कली नोट फेला परेपछि स्थानीय बासिन्दा अचम्मित भएका छन् ।

अविरल वर्षापछि बाढी आएको भोलिपल्ट खोलाको करिब तीन किलोमिटर क्षेत्रमा नोट फेला परेका हुन् । साेही रकम कसको हो र खोलामा कसरी पुग्यो भन्ने बारेमा केही पनि खुलेको छैन ।

गत असार २० गते राति आएको बाढीपछि ओखलढुंगाको चम्पादेवी र लिखु गाउँपालिकाको सिमानामा बग्ने राङ्चा अर्थात शिल्खु खोलामा एउटा अस्वाभाविक दृश्य देखियो । बाढी घट्नासाथ खोला किनारमा हजार र पाँच सय रुपैयाँका सक्कली नोटहरू छरिएको अवस्थामा भेटिए ।

बिरौटा गाउँमाथिको दत्रुङे पुलदेखि तल लिखु नदीसम्म फैलिएको करिब तीन किलोमिटर क्षेत्रमा नोट फेला परेपछि गाउँलेहरू चकित छन् । बाढी आउनुअघि यस क्षेत्रमा कुनै मानवीय क्षति, सवारी दुर्घटना वा ठूलो आर्थिक नोक्सानीको घटना नभएकाले यी नोट कहाँबाट बगे भन्ने प्रश्न अनुत्तरित छ । खोलामा पैसा देखेपछि स्थानीय छत्रबहादुर बोगटीले नोट संकलन समेत गरेका थिए ।

स्थानीयका अनुसार कतिपयले थोरै त कतिपयले उल्लेख्य रकम फेला पारेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले हालसम्म ५–६ जना स्थानीयबाट ७ वटा हजारका सग्ला नोट र करिब ५० वटा च्यातिएका नोटका टुक्रा संकलन गरेको छ । भेटिएका केही नोट भने स्थानीय तेजबहादुर मगरले बजारमा खर्च समेत गरिसकेका हुन् ।

घटनाकाे बारेमा प्रहरीले अनुसन्धान त थालेको छ। तर अहिलेसम्म कसैले पनि आफ्नो रकम हराएको वा बाढीले नगद बगाएको भन्दै औपचारिक उजुरी दिएका छैनन् । जसका कारण भेटिएका नोटहरु वैध स्रोतका हुन् वा अवैध स्रोत, तस्करी वा अन्य कुनै आपराधिक गतिविधि हो भन्ने खुलाउन सकिएको छैन ।

बाढीमा कति नोट बग्यो भन्नेबारे यकिन तथ्यांक कसैसँग छैन । नोट भेटिएको ठाउँ र अवस्था हेर्दा लाखौं रुपैंया बगेको अनुमान लगाउन सकिन्छ । प्रहरीले अनुसन्धान निष्कर्षमा पुगेपछि मात्रै वास्तविकता खुल्ने जनाएको छ ।