१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा एकजनाको मृत्यु, १० घाइते


0
Shares

जाकार्ता, असोज १२ । इन्डोनेसियामा गएको भूकम्पमा परी कम्तीमा एकजनाको मृत्यु भएको छ । अरु १० भन्दा बढी घाइते भएका छन् ।

इन्डोनेसियाको जलवायुसम्बन्धी कार्यालयले सुनामीसमेत आउने चेतावनी दिँदै सतर्कता अपनाउन आह्वान गरेको छ ।

अधिकारीहरूकाअनुसार ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि मध्य सुलावेसी प्रदेश र देशको मध्य भागमा यस्तो चेतावनी दिइएको हो ।

‘भूकम्पपछिको सुनामी आउने देखिएकाले सतर्क हुन आह्वान गरिएको हो’–जलवायु कार्यालयका प्रमुख सुकी डेवीले सिन्ह्वासित फोनमा भने ।

इन्डोनेसियामा शुक्रबर दिउँसो शक्तिशाली भूकम्प गएको हो । सुरुमा ७.७ म्याग्निच्यूडको भनिएको भूकम्प पछि ७.४ म्याग्निच्यूडको भएको जनाइएको थियो ।

भूकम्प गएको १२ मिनेटपछि पराकम्पन आएको थियो । पराकम्पन पनि झन्डै ६.१ म्याग्निच्यूडको थियो ।

त्यसैगरी, मुख्य भूकम्प गएको तीन घन्टापछि ६.० म्याग्निच्यूडको पराकम्पन आएको अधिकारीहरुले जनाएका छन् । रासस/सिन्ह्वा