काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज नेप्से लगातार पाँचौं कारोबारकाे दिन शुक्रबार पनि घटेको छ ।
हप्ताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से २ अंकले घटेर २ हजार ६ सय ४९ दशमलव ५१ विन्दुमा झरेको हाे । शुक्रबार नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । बिहीबार २ अर्ब ८३ करोडको कारोबार भएकोमा शुक्रबार ३ सय ५९ वटा कम्पनीका ७७ लाख २७ हजार कित्ता शेयर ३ अर्ब ९४ करोड रुपैयाँमा काराेबार भएको नेप्सेले जनाएकाे हाे ।
गत शुक्रबार २ हजार ७ सय २ विन्दुमा रहेको नेप्से त्यसयता घटिरहेको छ । नेप्से सोमबार १ दशमलव ४६, मङ्गलबार २६ दशमलव १६, बुधबार १४ दशमलव ४५ र बिहीबार ८ दशमलव ५० अंकले घटेको थियो । होटल तथा पर्यटन, जलविद्युत्, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सूचक घटेको छ । आज १७० वटा कम्पनीको शेयर घटेकोमा ८५ वटाको बढेको छ । यस्तै २० वटा कम्पनीको शेयर भने घटबढ नभएको नेप्सेले जनाएकाे हाे ।
शुक्रबार कालिका लघुवित्तको शेयर साढे १० प्रतिशत भन्दा बढीले घटेको छ । बजार सामान्य घटेको दिन स्नो रिभर्स, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।









प्रतिक्रिया दिनुहोस्