Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


मनसुनजन्य विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलको विशेष तयारी (तस्बिरसहित) 

२१ हजार ६ सय ९९ जना जनशक्ति परिचालन

0
Shares

काठमाडाैं । सशस्त्र प्रहरी बल, नेपालले मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना’ अन्तर्गत देशभर आफ्नो उपस्थिति र सक्रियता बढाएको छ ।

सम्भावित बाढी, पहिरो र डुबान जस्ता जोखिम न्युनिकरण तथा प्रभावकारी उद्धारका लागि सशस्त्र प्रहरीले विशेष रणनीति र जनशक्ति परिचालन गरेको हो । सशस्त्र प्रहरी बलले देशभरका २१ हजार ६ सय ९९ जना जनशक्तिलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी अवस्थामा राखेको छ । असार मसान्तसम्म संगठनका सम्पूर्ण कर्मचारीहरूलाई यस्तो तालिम दिने लक्ष्य राखिएको छ ।

विपद् प्रतिकार्यकै लागि देशभर ८ हजार १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरू २४ सै घण्टा ‘स्ट्याण्डबाई’ रहने व्यवस्था मिलाइएको सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बताउनुभयो । यसका साथै, विभिन्न कार्यालयहरूमा ‘विपद् सम्पर्क व्यक्ति’ तोकेर सरोकारवाला निकायहरूसँगको समन्वयलाई तीब्र पारिएको उहाँले बताउनुभएकाे छ।

रणनीतिक स्थानहरूमा अस्थायी तथा स्थायी वेश स्थापना:

विपद्को समयमा तत्काल उद्धार टोली पुग्न कठिन हुने दुर्गम तथा जोखिमयुक्त स्थानहरूको पहिचान गरी सातै प्रदेशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य वेश’ स्थापना गरिएको छ । जसअन्तर्गत कोशीमा ६, मधेसमा ११, वागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिम प्रदेशमा ८ वटा वेश रहेका छन् ।

त्यसैगरी, धनकुटाको मूलघाट, सुनसरीको चतरा, बाराको निजगढ, सप्तरीको भारदह, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, म्याग्दीको नारच्याङ र कैलालीको डुडेझारीसहित १६ वटा अति जोखिमयुक्त स्थानहरूमा जनशक्ति र स्रोतसाधनसहितका विपद् व्यवस्थापन वेशहरू तयारी अवस्थामा राखिएको महानिरीक्षक पौडेलले बताउनुभयो ।

विशिष्टिकृत उद्धार टोली र उपकरणको व्यवस्था:

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन १ सय ३४ जना गोताखोरसहितको टोलीलाई आवश्यक उपकरणसहित देशभरका ११ जोखिमयुक्त स्थानमा खटाइएको छ । सशस्त्र प्रहरीसँग हाल ८२ वटा र्‍याफ्टिङ बोट र ५३ वटा मोटर बोट तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । विशिष्टिकृत तालिम प्राप्त ४ हजार ७ सय १० जना दक्ष कर्मचारीहरू उद्धार सामग्रीसहित तयारी हालतमा रहेका छन् ।

स्वास्थ्य सेवाका लागि ८ वटा ‘मास क्याजुअल्टी भेइकल’ र ८ वटा ‘ए’ क्लास एम्बुलेन्सहरू विभिन्न बाहिनी तथा अस्पतालहरूमा व्यवस्था गरिएको छ । साथै, १० वटा ‘इमिडिएट रेस्पोन्स टिम’ र १३ वटा हेभी इक्विपमेन्टहरू (डोजर, लोडर आदि) विभिन्न प्रदेशमा तैनाथ गरिएका छन् ।

प्रविधि र सूचना प्रणालीको प्रयोग:

विपद्को सूचना तत्काल प्राप्त गर्न सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत समुदायबाट प्राप्त सूचना बाहिनी तहको अपरेसनल रुममा तत्काल पुग्ने र उद्धार टोली परिचालन हुने व्यवस्था मिलाइएको महानिरीक्षक पौडेलले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त हुने ‘रियल टाइम डाटा’ लाई आधार मानी प्रतिकार्य योजनालाई थप सुदृढ बनाइएको पनि उहाँले जानकारी दिनुभएकाे छ ।

समुदाय परिचालन र जनचेतना:

सशस्त्र प्रहरीले विपद् व्यवस्थापनमा जनसहभागिता बढाउन हालसम्म १ हजार ७ सय ४१ जना विपद् स्वयंसेवक तयार पारिसकेको छ । स्थानीय तहमा १ लाख ६८ हजार ९ सय ५६ जना ‘विपद् सूचक’ हरूको सञ्जाल निर्माण गरिएको छ। जसले घटनाको तत्काल जानकारी दिनेछन् । यसका अतिरिक्त, देशभरका विद्यालय र समुदायमा २ हजार ३ सय भन्दा बढी सचेतनामूलक कार्यक्रम र ३ सय ४३ वटा कृत्रिम अभ्यास सम्पन्न गरिएको महानिरीक्षक पौडेलले बताउनुभयो ।

विपद् व्यवस्थापनका यी सम्पूर्ण तयारीहरू सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षकको प्रत्यक्ष निर्देशन र योजना अनुरुप अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । सम्भावित जोखिमका क्षेत्रहरूको नक्शाङ्कन गरी मुख्य करिडोरहरूमा खोज तथा उद्धारको विशेष कार्ययोजना समेत कार्यान्वयनमा ल्याइएको हाे ।