Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश–७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी गोदावरी पारित, विपक्षीले गरे बैठक बहिस्कार


0
Shares

बिराज रोस्यारा, (इमेज)

कैलाली, असोज १२ । विपक्षी सांसदहरुको विरोधकाबीच प्रदेश नम्बर–७ को प्रदेशसभाले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरेको छ ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकले दुईतिहाइ बहुमतका आधारमा प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको हो ।

कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने तेघरी सामुदायिक वनमा स्थायी राजधानीको टुंगो लगाइएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीका विषयमा सुझाव दिन गठित समितिले दिएको प्रतिवेदनअनुसार नै प्रदेशसभाको दुईतिहाइले नाम र राजधानी टुंगो लगाएको हो ।

प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउनका लागि सत्तापक्षका प्रदेशसभा सदस्यलेमात्रै मतदानमा भाग लिएका थिए ।

प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य भने बैठक बहिस्कार गर्दै बाहिरिएका थिए ।

उनीहरु सदनबाट बाहिरिएपछि दुईतिहाइको आधारमा प्रदेशको नाम र स्थायी राजधानीको छिनोफानो गरिएको हो ।

प्रदेशसभामा जम्मा ५३ मध्ये सत्तापक्षका ३९ जना सांसद रहेका छन् । कांग्रेसका १२ र राजपाका दुईजना सांसद छन् ।

यसअघि, शुक्रबारै मध्याह्न १२ बजेको प्रदेशसभा बैठक प्रतिपक्षी कांग्रेसका सांसदले रोस्टम घेराउ गरेर अवरोध गरेपछि स्थगित गरिएको थियो ।

शुक्रबारै पुनः दिउँसो पौने ३ बजे बैठक सुचारु भएको थियो । दोस्रो बैठकबाट प्रदेशको नाम र राजधानीको प्रस्ताव पारित गरिएको हो ।