काठमाडौं, असोज १२ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द्र प्रधानबीच शुक्रबार भएको भेटवार्तामा दुईदेशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगन्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुंगो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले अवगत गराएका छन् ।
सो विषयमा दुई सरकारबीच सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुंगो लाग्नेछ ।
कार्यवाहक प्रधानमन्त्री पोखरेलले पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी दिए ।
यसैगरी, उनीहरुबीच भारत सरकारको सहयोगमा बन्ने हेटौंडा पोलिटेक्निक इन्स्टिच्यूटको निर्माण चाँडो पूरा गर्ने विषयमा पनि छलफल भएको थियो ।
मन्त्री प्रधान शुक्रबारै नेपाल आएका हुन् । रासस









प्रतिक्रिया दिनुहोस्